अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५ | Colorodo: 10:40

नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढाउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

बिआरटीनेपाल २०८१ कार्तिक १७ गते ८:१२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न सरकारले प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शङ्खधर साख्वाः प्रतिष्ठानले भक्तपुरको मध्यपुरथिमिमा रहेको शङ्खधर साख्वाः चोकमा आयोजना गरेको कार्यक्रममा नेपाल संवतका प्रवर्तक एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गरेपछि उहाँले भाषा संस्कृति, सभ्यतालाई जोगाउन व्यक्तिगत र प्रधानमन्त्री दुवै हैसियतमा आफू तयार रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल भाषालाई पाठ्यक्रममा समावेश गर्न प्रक्रिया अगाडि बढाउने बताउँदै प्रतिष्ठानका केही जायज माग राज्यको क्षमताअनुसार क्रमशः पूरा गरिने जानकारी दिनुभयो ।

सरकारीस्तरमा नेपाल भाषाको संरक्षणका लागि विभिन्न प्रयास भइरहेका तथा त्यस क्रममा राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन र रेडियो नेपालबाट नेपाल भाषामा समाचार प्रकाशन एवम् प्रसारण थालिएको प्रधानमन्त्रीले बताउनुभयो । भक्तपुरलाई जीवित सङ्ग्रहालयका रुपमा लिइएको बताउँदै उहाँले यहाँका ऐतिहासिक कला, संस्कृति संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले शङ्खधर साख्वाःले त्यतिबेला नै देशभक्ति र राष्ट्रियताको परिचय दिनुभएको बताउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाले जिल्लाका ऐतिहासिक कला, संस्कृति, परम्परालाई विश्वभर फैलाउन आगामी पुसमा मध्यपुर महोत्सव आयोजना गर्ने जानकारी दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल संवत् ११०० मा शुरु भएको भिन्तुना आन्दोलनबाट ठूलो उपलब्धि हासिल गरे पनि अझै धेरै गर्न बाँकी रहेकाले सरकारले त्यसतर्फ ध्यानदिनुपर्ने बताउनुभयो ।

त्यसअवसरमा प्रधानमन्त्री ओलीले मध्पुरथिमिमा ६३ वर्ष पुरोना संस्था न्ह्यज्याः खलः थिमि र नेपाल संवतका अभियन्ता, भाषा आयोगका सदस्य एवम् सञ्चारकर्मी सुरेशकिरण मानन्धरलाई शङ्खधर सम्मान प्रदान गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू