आज दशैँको सप्तमी तिथि, घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्राइएको छ । आज दुर्गापीठ, दशैँघर, कोत तथा घर–घरमा फूलपाती भित्राइएको हो ।टस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्राउने चलन छ ।
यसैबीच, काठमाण्डौको हनुमानढोका दरबारको दशैँ घरमा गोरखाबाट लगिएको फूलपाती भित्राइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँ घरका पूजारीसहित मगर जातिका ६ जनाले लैजाने र धादिङको जीवनपुरबाट काठमाण्डौको जमलसम्म काठमाण्डौबाट आएका ब्राह्मण जातिका ६ जनाले लैजाने परम्परा रही आएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्राइएको हो । दशैँ घरमा आज भित्र्याइएको फूलपाती दशमीको दिन टिका जमरासँगै देवीको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ ।