अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम चाँडो शुरू हुन्छ : ऊर्जामन्त्री खड्का

बिआरटीनेपाल २०८१ भदौ २५ गते ६:०३ मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले माथिल्लो अरुण जलविद्युत् आयोजनाको काम चाँडो शुरू हुने बताउनुभएको छ ।सङ्खुवासभामा आज भएको कार्यक्रममा ऊर्जामन्त्री खड्काले स्रोत सुनिश्चित गरी माथिल्लो अरुणको काम चाँडो शुरू गरिने जानकारी दिनुभयो । गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि पहल गरिरहेको उहाँको दाबी छ । सङ्खुवासभाका हरेक घरलाई पाँच लाख रुपैयाँको शेयरको सुनिश्चितता हुनुपर्छ भनेर आफू लागिरेहको उहाँको भनाइ छ ।

मन्त्री खड्काले सङ्खुवासभाभित्रका आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानमा सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले कोशी करिडोरमा राष्ट्रिय प्रसारण लाइन निर्माणका क्रममा देखिएको ढिलाइलाई सम्बोधन गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको उल्लेख गर्नुभयो । मन्त्री खड्काले छिटो–छरितो कार्यसम्पादन गर्ने भन्ने प्रधानमन्त्रीको निर्देशन भएकाले मन्त्रालयले कार्यसम्पादन गरेको उल्लेख गर्नुभयो ।

यस्तै ऊर्जामन्त्रीले ट्रङ्कलाइन र डेडिकेटेड विद्युत् लाइनका विषयमा देखिएका समस्या समाधान गर्नका लागि लेखा समितिमै छलफल भएकाले यसको टुङ्गो चाँडो लाग्ने बताउनुभयो । व्यवसायीले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्ने उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू