अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२२ | Colorodo: 07:37

अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पूर्जी जारी गरे पनि पुटिनलाई मङ्गोलियामा भव्य स्वागत

बिआरटीनेपाल २०८१ भदौ १८ गते ६:५४ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गोलियाका राष्ट्रपति उखनागिन खुरेलसुखसँग भेट गर्नुभएको छ । गएको वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले फक्राउ पूर्जी जारी गरेपछि आईसीसीको सदस्य देशमा पुटिनको यो पहिलो भ्रमण हो । आईसिसी, युक्रेन र पश्चिमा देशहरूको आह्वानविरुद्ध अवज्ञाको प्रदर्शनको रूपमा हेरिएको भ्रमणका क्रममा पुटिनलाई मङ्गोलियाले भव्य स्वागत गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०२२  मा रुसी सेनाले युक्रेनमा आक्रमण गरेदेखि युक्रेनी बालबालिकालाई अवैध निर्वासन गरेको आरोपमा हेगमा रहेको आईसीसीले पुटिनलाई पक्राउ गर्न खोजिरहेको छ । युक्रेनले मङ्गोलियालाई पक्राउ पूर्जीको कार्यान्वयन गर्न आग्रह गर्दै आईसीसीले खोजेको व्यक्तिलाई हिरासतमा राख्ने दायित्व सम्पूर्ण सदस्य राष्ट्रहरूको रहेको बताएको थियो । पुटिनको भ्रमणपछि युक्रेनले आक्रोश व्यक्त गर्दै मङ्गोलिया पनि युद्ध अपराधमा संलग्न रहेको आरोप लगाएको छ ।

रुस र चीनको बीचमा रहेको मङ्गोलियाको रुससँग घनिष्ठ सांस्कृतिक सम्बन्धका साथै चीनसँग महत्त्वपूर्ण व्यापारिक सम्बन्ध रहेको छ । सोभियत सङ्घमा रहेको मङ्गोलियाले सन् १९९१ मा सोभियत सङ्घ विघटन भएदेखि रुस र चीन दुबै देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्न खोजिरहेको छ । मङ्गोलियाले युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन भने संयुक्त राष्ट्रसङ्घमा मतदान गर्दा अनुपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू