अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

माओवादी केन्द्रीय समिति बैठक असोज पहिलो साता बस्ने

बिआरटीनेपाल २०८१ साउन ३१ गते ७:१२ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । बिहीबार सकिएको स्थायी समिति बैठकले सबै प्रदेशमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जवस / मोर्चाको संयुक्त बैठक बोलाउने निर्णय गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता अग्निप्रसाद सापकोटाले बागमती प्रदेशमा भदौ ५ र ६ गते, विशेष र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते बैठक बस्ने जानकारी दिनुभयो ।

यस्तै गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्नेछ । यसैगरी केन्द्रीय आयोगमा १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चमा २९ र ३० गते, जवसरमोर्चाको २७ र २८ गते बैठक बस्नेछ । यी प्रदेशमा बैठक सकिएपछि भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशमा पनि बैठक बस्ने प्रवक्ता सापकोटाले बताउनुभयो । छलफल र सुझावका आधारमा असोजको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने जानकारी उहाँले दिनुभयो ।

‘स्थायी समिति बैठकले सातै प्रदेशमा संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको छ । सबै प्रदेशमा अध्यक्षदेखि उपमहासचिवसम्म नेताहरू जानुहुन्छ । त्यहाँ स्थायी समितिले गरेको निर्णय राख्नेछौँ । त्यसमा आएका सुझाव र सल्लाहको आधारमा राजनीतिक दस्ताबेज तयार गरी असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने छौँ’, सापकोटाले भन्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू