अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

मनसुनजन्य र अन्य विपदबाट हालसम्म २ सय ११ को मृत्यु, बागमती र गण्डकीमा बढी क्षति

बिआरटीनेपाल २०८१ साउन ३० गते ७:३३ मा प्रकाशित

नेपालमा मनसुनपछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपदबाट २ सय ११ जनाको मृत्यु भएको छ। कुल ४८ जना बेपत्ता रहेका छन्भने एक सय ४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। गत जेठ २८ पछि मनसुनयन्य घटनाबाट एक सय ७० जना र अन्य विपदबाट ४१ जनाको मृत्यु भएको प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार अन्य विपदमा आगलागी, सर्पदंश, लेक लाग्नु, जनावर आक्रमणलगायत घटना समावेश छ। नेपालमा यस वर्ष गत जेठ २८ मा मनसुन भित्रिएको थियो। प्रवक्ता भट्टराईका अनुसार यसपाली सबैभन्दा बढी क्षति बागमती र गण्डकी प्रदेशले बेहोरेको छ। बागमती र गण्डकी प्रदेश दुवैमा ५८/५८ जनाको मृत्यु भएको छ। यसैगरी, कोशी प्रदेशमा २६, मधेश प्रदेशमा सात, लुम्बिनी प्रदेशमा ३९, कर्णालीमा नौ र सुदूरश्चिममा १४ जनाको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

यो अवधिमा एक हजार तीन सय ३३ घटना भएकामा तीन हजार ६ सय ४७ परिवार प्रभावित भएका छन्। चार सय पाँचवटा घटना भएको कोशीमा सबैभन्दा बढी एक हजार दुई सय १२ परिवार प्रभावित भएका जनाइएको छ। यस्तै, मधेशमा पाँच सय १३, बागमतीमा चार सय ७१, गण्डकीमा चार सय ३७, लुम्बिनीमा तीन सय २६, कर्णालीमा दुई सय ४० र सुदूरपश्चिममा चार सय ४८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ।

प्राप्त विवरणअनुसार कोशीमा दुई, बागमतीमा ४०, गण्डकीमा तीन, लुम्बिनीमा दुई र कर्णालीमा एकजना बेपत्ता रहेका छन्। अघिल्लो वर्षभन्दा बढी यस वर्ष मानवीय क्षति हो। अघिल्लो वर्ष सोही अवधिमा विपद्जन्य घटनामा ७२ जनाको मृत्यु भएको थियो। पूर्वतयारी, खोज उद्धार तथा सूचना प्रवाहमा समन्वयात्मक रूपमा काम भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए। यस वर्ष औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान नै वर्षा भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू