अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

बङ्गलादेशका दुई कारागारबाट कैदी भाग्ने क्रममा झडपः १२ जनाको मृत्यु

बिआरटीनेपाल २०८१ साउन २६ गते ६:१० मा प्रकाशित

पूर्वप्रधानमन्त्री शेख हसिना अपदस्थ भएको केही दिनपछि बङ्गलादेशका दुई कारागारबाट कैदीहरू भाग्ने प्रयास गर्दा भएको झडपमा परी कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । देशको राजधानी ढाकाको उत्तरमा रहेको दुबै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एक श्रृंखला हो। आक्रोसित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेका थिए । जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीवार ६ जना कैदीको मृत्यु भएको वार्डेन अबु फताहले बताएका छन् ।

कैदीहरूले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए । कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरूको मृत्यु भएको फताहले बताएका छन् । ‘कैदीहरूको अराजक गतिविधिले हामी गोली चलाउन बाध्य भएका हौँ,’ उनले भनेका छन् । त्यसैगरी, उच्च सुरक्षासहितको काशमपुर जेलमा मङ्गलवार कैदीहरू भाग्ने प्रयासका कारण भएको झडपमा अन्य ६ जना कैदीको मृत्यु भएको जेलका वार्डेन लुत्फर रहमानले बताए ।

रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको बताए । झडपका क्रममा उक्त जेलबाट करिब दुई सय कैदीहरू भागेको उनले उल्लेख गरे ।हसिना सरकारविरुद्ध विरोध प्रदर्शन शुरू भएदेखि बङ्गलादेशभरी कैदीबन्दीहरू जेलबाट भाग्ने प्रयासमा छन् । पूर्वप्रधानमन्त्री हसिनाले राजीनामा दिएको दिन सोमवार उत्तरी जिल्ला सेरपुरको जेलबाट पाँच सयभन्दा बढी कैदीहरू भागेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू