अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

लामिछानेसहित २६ जनासँग सोधपुछपछि प्रतिवेदन लेख्ने तयारीमा सहकारी छानबिन समिति

बिआरटीनेपाल २०८१ साउन २२ गते ७:२५ मा प्रकाशित

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छाबिन विशेष समितिले अध्ययन अनुसन्धानको काम अन्तिमतिर पुर्याएको छ। समितिका सभापति सूर्य थापाले मंगलबार दुई महिनासम्म भएका कामको बारेमा जानकारी दिँदै अब अध्ययन निष्कर्ष उन्मुख रहेको बताउनुभयो । दुई महिनादेखि ३१ वटा बैठकमा समितिले सहकारीसँग सम्बद्ध विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिहरुलाई आमन्त्रण गरेर जानकारी दिएको थापाले बताउनुभयो।

उहाँले अब समितिले सहकारी ठगीमा संलग्न २६ जनासँग सोधपुछ गर्ने तयारीमा समिति पुगेको जानकारी दिनुभयो। सहकारी ठगेर फरार रहेका २० जनालाई पक्राउ गर्न निर्देशन दिएको समितिले सोपुधका लागि २६ जनाको नाम तयार पारेको छ। जसमा गोरखा मिडिया नेटकर्वमा अवैध तरिकाले सहकारीको पैसा ल्याएका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने, शिवशिखर सहकारी अध्यक्ष केदारनाथ शर्मा, कान्तिपुर सहकारी पूर्वअध्यक्ष तथा पशुपति सहकारी अध्यक्ष सीबी लामा छन्।

तत्कालीन विपक्षी कांग्रेसको जोडबलमा लामिछानेमाथि छानबनि गर्नुपर्ने अडान राखेपछि संसदले अध्ययनका लागि सात सदस्यीय समिति बनाएको हो। त्यस्तै समितिले गोरखा सेभिङका पूर्वअध्यक्ष डीबी बम्जन, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, श्री लालीगुराँस सहकारीका सुरेन्द्र भण्डारी, बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्मा, क्यापिटल सहकारीका अध्यक्ष रामचन्द्र शर्मा, सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङ, जीबी राई समूहका कुमार रम्तेललाई बोलाएर सोधपुछ गर्ने भएको हो।

सभापति थापाले भन्नुभयो, ‘अब समितिले अध्ययनको कामलाई निष्कर्ष उन्मुख बनाएको छ। सहकारीसँग जोडिएका २६ जनासँग सोधपुछ गर्ने तयारीमा छौँ। त्योसँगै प्रतिवेदन लेखनको काम पनि सँगै अघि बढाउँदै जान्छौँ।’ उहाँले समितिको सोधपुछ प्रहरीको जस्तो नहुने र त्यसका लागि समितिले प्रश्नको सूची तयार पारिसकेको जानकारी दिनुभयो। समितिले समस्याग्रस्त २९ वटा सहकारीका बारेमा पनि छानबिन गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू