अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५२ | Colorodo: 18:07

स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारी सिर्जना गर्न कांग्रेस–एमाले मिलेकाे हाे : सभापति देउवा

बिआरटीनेपाल २०८१ साउन ६ गते ८:०८ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थिर र बलियाे सरकारका पक्षमा नेपाली कांग्रेस र नेकपा (एमाले) रहेको बताउनुभएको छ ।प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्नका लागि प्रस्तुत गर्नुभएको प्रस्तावमाथि समर्थन जनाउँदै सभापति देउवाले नेपाली नागरिककाे अपेक्षाअनुसार स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारी सिर्जना तथा भौतिक संरचनाको शीघ्र निर्माण गर्न वर्तमान सरकार गठन भएको उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधन लोकतन्त्रको स्वाभाविक अभ्यास रहेको उल्लेख गर्दै संविधान संशोधन गर्दा सबै दलको सहमति खोजिने स्पष्ट पार्नुभयो ।

सभापति देउवाले संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले राजनीतिक स्थिरता, तीव्र आर्थिक विकास र समृद्धिका लागि काम गर्ने अपेक्षा गर्नुभयो । ‘देश विकासका लागि सबैभन्दा पहिलो आवश्यकता स्थिर र मजबुत सरकार निर्माण गर्नु हो । आजको संसद्को संरचनालाई देष्टिगत गरी स्थिर सरकारका लागि संसद्को पहिलो र दोस्रो दल मिलेर सरकार निर्माण भएको छ’, उहाँले भन्नुभयो ।  नयाँ सरकारले देशमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै समग्र अर्थतन्त्रलाई चलायमान बनाउने र दिगो शान्ति कायम गरी गतिशील अर्थतन्त्रको माध्यमबाट देशभित्रै रोगजारीका अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राख्ने सभापति देउवाले विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू