आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि विपक्षी कित्तामा पुगेका माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीले छलफल गरेका छन्। शुक्रबार माओवादी संसदीय दलको कार्यालयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्षमा माधवकुमार नेपाल र रास्वपा सभापति रवि लामिछानेले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्नुभएको हो ।
तीन दलसँग संसदमा ६३ मत छ। बैठकपछि माओवादी उपमहासचिव वर्षमान पुनले कांग्रेस एमालेको गठबन्धन निरंकुशतातिर अघि बढेको आरोप लगाउनुभयो। उनले भने, ‘साना र मध्यम दलहरूलाई कमजोर पार्नुपर्छ भनेर लाग्नुभएको देखिन्छ। विगतमा संविधानमा तीन प्रतिशत थ्रेसहोल्ड राखिएको थियो। तर, अब बढाएर १० प्रतिशत पुर्याउने भनिएको छ। सधैँ सबैको जनमत यही रहँदैन। मन्त्रीपरिषद्को बैठक लाइभ गर्नुपर्ने अवस्थामा निर्णय लुकाउनुपर्ने आवश्यकता के छ। जनतासँग लुकाउनुपर्ने के छ ? लाइभ क्याबिनेट बसेर के बिग्रिन्छ ? ’