अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा परी बिहीवार दिउँसोसम्म एक सय २५ जनाले ज्यान गुमाएका छन् । विपद्मा परी काठमाडौंमा दुई, कोशी प्रदेशमा २२, मधेशमा पाँच, बागमतीमा २०, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिममा आठ गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो
उहाँका अनुसार विपद्मै परी काठमाडौंमा ८ , कोशीमा ३४, मधेशमा ९ , बागमतीमा ७ , गण्डकीमा २९, लुम्बिनीमा ९ , कर्णालीमा ३३ र सुदूरपश्चिममा १४ गरी जम्मा १ सय ४३ जना घाइते भएका छन् । यसैगरी कोशीमा ४१, गण्डकीमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशीमा २ , मधेशमा १ , बागमतीमा २ , गण्डकीमा १ , कर्णालीमा १ र सुदूरपश्चिममा एक गरी ८ जना बेपत्ता भएको प्रवक्ता कार्कीले बताउनुभयो ।
‘बाढीपहिरोलगायत विपद्मा परी बेपत्ता भएकाको खोजी भइरहेको छ,’ उहाँले भन्नुभयो । सिमलताल दुर्घटनामा बेपत्ता भएकाको तथ्याङ्क यहाँ समावेश नगरिएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । २ सय २२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा ५ सय ८५ वटा पशुचौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ७ सय २१ परिवार विस्थापित भएका छन् ।