अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३ | Colorodo: 09:08

तेस्रो त्रैमासमा २.२ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर, व्यापारसहित चार क्षेत्र ऋणात्मक

बिआरटीनेपाल २०८१ साउन २ गते ७:१४ मा प्रकाशित

आर्थिक वृद्धिदर मापन गर्ने कृषि बाहेकका चार महत्त्वपूर्ण क्षेत्रमा एक साथ ऋणात्मक वृद्धिदर कायम भएको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासिक ९माघ, फागुन र चैत महिना०मा व्यापार, उत्पादनमूलक उद्योग, निर्माण, खानी तथा खनिज क्षेत्रमा ऋणात्मक वृद्धिदर देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो वर्षको सोही त्रैमासिक अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ।

यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा गहुँ, आलु, नगदे बाली तथा फलफूल उत्पादनमा भएको वृद्धिलाई प्रमुख कारणको रूपमा हेरिएको छ। त्यस्तै, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटेल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरीले पनि सहयोग पुर्‍याएको तथ्यांक कार्यालयले उल्लेख गरेको छ। नेपालको अर्थतन्त्रमा कृषि क्षेत्र मात्रैको योगदान २४ प्रतिशत छ। यसका अतिरिक्त निर्माण, उद्योग, व्यापार, खानी तथा उत्खनन बाहेकका अन्य क्षेत्रहरूको धनात्मक वृद्धि छ। विगतमा आर्थिक वृद्धि न्यून हुनुको प्रमुख कारण कृषि हुने गरेको थियो। यो पटक कृषिले औसतभन्दा बढी वृद्धिदर कायम गर्दा पनि समग्र वृद्धिदर न्यून हुने देखिएको छ।विशेषगरी व्यापार र निर्माण चक्रमा समस्या देखिएको छ। अर्थतन्त्र मापन गर्ने १८ क्षेत्र कृषि पछिको स्थानमा व्यापार रहेको छ। अर्थतन्त्रमा व्यापार क्षेत्रको योगदान करिब १४ प्रतिशतको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा व्यापार क्षेत्र २.७ प्रतिशतले ऋणात्मक छ। त्यस्तै, अर्थतन्त्रमा ५ प्रतिशतको योगदान रहेको निर्माण क्षेत्र ११ प्रतिशतले ऋणात्मक भएको छ। उत्पादनमूलक उद्योग २ प्रतिशत र खानी तथा उत्खनन क्षेत्र ४.८ प्रतिशतले ऋणात्मक छ। गत वर्षको तेस्रो त्रैमासमा विद्युत तथा ग्यास उद्योगसँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबभन्दा धेरै ३७.१ प्रतिशत छ। आवास तथा भोजन सेवाको १९.१ प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने क्षेत्रमा परेको छ। यातायात तथा भण्डारण क्षेत्रमा १५ प्रतिशतको वृद्धिदर छ।

त्यसैगरी, अन्य सेवाका क्रियाकलापहरू कला, मनोरन्जन लगायतका क्रियाकलापहरूको वृद्धिदर ८.३ प्रतिशत भएको देखिन्छ। यसका साथै निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा सेवाको वृद्धिदर ६.१ भएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय