नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अपराह्न अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको होे । नेपाली कांग्रेसको समर्थनमा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। ओली चौथो पटक प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो । नवनियुक्त प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको शपथ सोमबार बिहान ११ बजे शितल निवासमा हुनेछ। गत असार १७ गते कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्नेलगायत सहमति भएको थियो। त्यसपछि एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।
अल्पमतमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शुक्रबार प्रतिनिधि सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि उहाँ पदमुक्त हुनुभएको थियो । सोही दिन राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबार अपराह्न ५ बजेभित्र नयाँ सरकार गठनको लागि दाबी पेस गर्न समय दिनुभएको थियो । त्यसको केही घन्टाभित्रै कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्नुभएको थियो। प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७८ जना सांसद छन्।
यसबीचमा राष्ट्रपति पौडेलले दाहाललाई नै कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको थियो । बहुमतका लागि यी दुई दलका सांसदले मात्रै पर्याप्त हुन्छ। तर यो सरकारमा संसदमा रहेका साना दलहरूलाई पनि सहभागी गराउने तयारीमा कांग्रेस र एमाले छन्। संविधानका कतिपय व्यवस्था पुनरावलोकन गर्ने समझदारी गरेका कांग्रेस र एमालेले सरकारलाई दुई तिहाइको समर्थन जुटाउने जमर्को गरेका छन्। यसैबीच कांग्रेस र एमालेले ओली सरकारमा सहभागी हुने मन्त्रीहरू सोमबार बिहानसम्म टुंगो लगाउने भएका छन्।