अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०२ | Colorodo: 23:17

नेपाली कांग्रेसद्धारा मन्त्री चयनको मापदण्ड निर्धारण

बिआरटीनेपाल २०८१ असार ३० गते ५:३२ मा प्रकाशित

नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्री चयन गर्ने भएको छ । सानेपास्थित पार्टी केन्द्रीयमा शनिबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकबाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका निम्ति योगदान र योग्यतामा आधारित मापदण्ड तय गरिएको हो ।

योग्यता र योगदानलाई मुख्य आधार बनाएर प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा सरकारमा जाने मन्त्री छान्ने निर्णय बैठकबाट गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । यस्तै, नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परी दुई बस त्रिशूली नदीमा खस्दा करिब पाँच दर्जन यात्रुको अवस्था अज्ञात रहेको घटना, कास्कीमा एकै परिवारका सातसहित ११ जनाको मृत्यु र अविरल वर्षाका कारण देशभर विभिन्न भूभागमा बाढीपहिरो र डुबानमा परी भएको जनधनको ठूलो क्षतिप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । युद्धस्तरमा उद्धार, हराएकाको खोजी, नागरिकलाई सुरक्षितस्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायलाई बैठकबाट आग्रह गरिएको छ ।

प्राकृतिक विपद्‌मा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको पनि प्रवक्ता महतले जानकारी दिनुभयो । कांग्रेसले सडक दुर्घटना न्यूनीकरणसम्बन्धी आवश्यक कानुनी व्यवस्थाका निम्ति पनि सरकारको ध्यानाकर्षण गरिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय