अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 21:55

धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपतिबाट आह्वान

बिआरटीनेपाल २०८१ असार २९ गते ९:४८ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार सरकार गठन गर्न आह्वान गर्नुभएको छ । शुक्रबार राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गर्न संसदमा रहेका दलहरुलाई आह्वान गर्नुभएको हो । राष्ट्रपति पौडेलले आइतबार बेलुका ५ बसेसम्मको समय दिनुभएको छ ।

संविधानको धारा ७६ (२)मा भनिएको छ, ‘प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।’

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो। पदमा रहनका लागि १३८ सांसदको समर्थन चाहिने भए पनि दाहालले जम्मा ६३ मत मात्रै भए भने विपक्षीमा १९४ मत परेको थियो।

सरकार गठनका लागि आह्वान गर्नुअघि राष्ट्रपति पौडेलले संविधानका जानकारहरुसँग परार्मश गर्नुभएको थियो ।उहाँ ले अबको सरकार धारा ७६ (२) वा (३) कुन अनुसार आह्वान गर्नुपर्ने भन्ने चासो राख्नुभएको थियो । शितल निवास पुगेका अधिकांश संविधानका जानकारहरुले संविधानको धारा ७६ (२) अनुसार आह्वान गर्न सुझाव दिएका थिए।

कांग्रेस र एमाले मिलेर केपी ओली नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका छन्। उनीहरु सरकार आह्वान हुनेबित्तिकै दाबी गर्ने तयारीमा छन् ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू