अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 08:55

मन्त्रिपरिषद् बैठक: भारत र अमेरिकासहित ८ देशका राजदूत सिफारिस

बिआरटीनेपाल २०८१ असार ८ गते ८:३५ मा प्रकाशित

सरकारले ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, डेनमार्क, बेलायत, मलेसियासहित ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएको थियो। सोही आधारमा बैठकले ८ देशका राजदूत सिफारिस गरेको हो।

एमालेको तर्फबाट ५ जना, माओवादीको तर्फबाट १ जना र अशोक राई नेतृत्वको जसपाको तर्फबाट दुई जना राजदूतका लागि सिफारिस भएका हुन्। बैठकले रास्वपाबाट भने आज नियुक्तिका लागि सिफारिस गरेन। भारतका लागि नेपालका राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी नियुक्त हुनुभएको छ । त्यस्तै, सुशील प्याकुरेल दक्षिण कोरिया, नेत्रप्रसाद तिमल्सिना मलेसिया, सुम्निमा तुलाधर डेनमार्क, विजय पन्त बेलायत, चन्द्रप्रसाद घिमिरे अमेरिका, पुष्पराज राजकर्णिकार स्पेन र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत नियुक्तका सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू