अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

कर्णाली चिनाउन काठमाडौंमा तस्वीर-भिडियो प्रदर्शनी सुरु

बिआरटीनेपाल २०८१ असार २ गते ६:२० मा प्रकाशित

संघीय राजधानीलाई कर्णाली चिनाउने उद्देश्यले काठमाडौंमा तस्वीर/ भिडियो प्रदर्शन गरिएको छ । शब्द, चित्र, दृश्य र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णालीसँग जोड्ने अभियान ‘कनेक्टिङ कर्णाली’को राउटे युवा नवीन शाहीले उद्घाटन गर्नुभयो । काठमाडौंको नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा आयोजित प्रदर्शनीको उद्घाटनछि नवीनले राउटे समुदाय संकटमा रहेको, विभिन्न समस्याहरु झेल्न परेको गुनासो गर्नुभयो । कनेक्टिङ कर्णाली अभियानले कर्णालीका १० वटै जिल्लाहरुलाई समेट्ने उद्देश्यसहित कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

अभियानको सुरुवात स्वरुप खस कला, संस्कृति र सम्पदाको खानीको रुपमा रहेको दैलेखबाट सुरुआत गरिएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीमा ३२ वटा फोटो तथा ५ वटा भिडियोहरू प्रदर्शन गरिएको छ । साथै, कर्णालीको उत्पादनसँग सम्बन्धित मार्सी चामल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायबाट उत्पादित सामग्रीहरूलाई प्रदर्शनीमा राखिएको छ । कनेक्टिङ कर्णाली अभियानमार्फत कर्णालीको १० वटै जिल्लाहरुलाई उजागर गर्ने कामको थालनी दैलेखबाट सुरु गरको मनघरी फाउण्डेशनका अध्यक्ष एवम् कनेक्टिङ कर्णालीका परिकल्पनानकार भरतबन्धु थापाले बताउनुभयो ।

प्रत्येक महिना पहिलो शनिबारदेखि कर्णालीका दशै जिल्ला समेटिने अध्यक्ष थापाको भनाइ छ । प्रदर्शनीमा राखिएका अधिकांश तस्वीर आयोजक र विशाल सुनारले कैद गरेका हुन् । पाँच वटै छोटा भिडियोहरू विशाल सुनारले तयार गर्नुभएको हो । भिडियोहरुमा दैलेखको सस्कृति, संम्पदा, प्रकृति, सावर र पेट्रोलियम पदार्थ अन्वेषणसँग सम्बन्धित भिडियोहरू राखिएको छ । यो अभियान मनघरी फाउन्डेशनको आयोजना तथा सोसेक नेपाल, दैलेखी सेवा समाजको प्रवद्र्धनमा सुरु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू