अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१२ | Colorodo: 10:27

टी–२० विश्वकपमा भाेलि बिहान नेपाल र दक्षिण अफ्रिका खेल्दै

बिआरटीनेपाल २०८१ असार १ गते ९:१६ मा प्रकाशित

आईसीसी टी–२० विश्वकप क्रिकेटमा भोलि बिहान सवा ५ बजे नेपाल र दक्षिण अफ्रिका खेल्दैछन् । समूह ‘डी’ को यो खेल वेस्ट इन्डिजको किङ्ग्सटाउनमा हुँदैछ । दक्षिण अफ्रिका ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका सुपर–८ मा पुगिसकेको छ । नेपाल २ खेलमा १ अङ्कसहित चौथो स्थानमा छ । ‘सुपर–८’ मा पुग्ने सम्भावना कायमै राख्न नेपाललाई भोलिको खेल जित्नैपर्ने दबाब छ ।नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले ८ बल बाँकी छँदा ४ विकेट गुमाएर भेटाएको थियो । यस्तै श्रीलङ्कासँगको दोस्रो खेल वर्षाले रद्द भएपछि अङ्क बाँडिएको थियो ।

यस्तै दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । यस्तै दक्षिण अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ४ विकेट र तेस्राे खेलमा बङ्गलादेशलाई ४ रनले हराएकाे थियाे ।टी–२० विश्वकपमा आज राति समूह ‘ए’ का अमेरिका र आयरल्यान्ड खेल्दैछन् । यो खेल अमेरिकाको फ्लोरिडामा राति सवा ८ बजे शुरु हुनेछ । अमेरिका ३ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । २ वटै खेल हारेको आयरल्यान्ड अङ्कविहीन हुँदै पुछारमा छ ।

आज विजयी भए आयोजक अमेरिका प्रतियोगिताको सुपर–८ मा पुग्नेछ । खेल बराबरीमा सकिए वा रद्द भएमा पनि अमेरिका ५ अङ्कसहित सुपर–८ मा पुग्दा पाकिस्तान, क्यानडा र आयरल्यान्ड समूह चरणबाटै बाहिरिने छन् । यस्तै भोलि बिहान नै सवा ६ बजे हुने खेलमा न्युजिल्यान्ड र युगान्डा खेल्दैछन् । समूह ‘सी’ मा रहेका न्युजिल्यान्ड र युगान्डाका लागि यो खेल प्रतिष्ठाको खेल मात्रै हुनेछ । यो समूहबाट आयोजक वेस्ट इन्डिज र अफगानिस्तान सुपर–८ मा पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू