अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

कांग्रेस अहिले मिसन-२०८१ मै छ : उपसभापति खड्का

बिआरटीनेपाल २०८१ जेठ ३१ गते ६:४७ मा प्रकाशित

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस अहिले मिसन–२०८४ नभई मिसन ०८१ मै रहेको बताउनुभएको छ । बिहीबार कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उपसभापति खड्काले देशको समृद्धि र विकास कांग्रेसको मूल मिसन भएको बताउनुभयो । उपसभापति खड्काले कांग्रेस मिसन–२०८४ तर्फ केन्द्रित नरहेको समेत प्रस्ट पार्नुभयो । ‘कांग्रेस अहिले मिसन २०८१ मै छ । २०८२ र २०८३ मा देश विकासका लागि के गर्ने, पार्टीलाई आम जनतासम्म कसरी पुर्‍याउने भन्नेमा केन्द्रित छौँ’ उहाँले भन्नुभयो, ‘यति गरेपछि २०८४ मा कांग्रेस एक्लै चुनाव लडेर तीनै तहमा बहुमत ल्याउँछ ।’

खड्काले मुलुकमा अहिले अप्ठ्यारो परिस्थिति सृजना हुन थालेको बताउँदै त्यो परिस्थितिबाट देशलाई निकास दिन कांग्रेस अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले देशको विकास र समृद्धिका लागि फेरि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभयो। उपसभापति खड्काले जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुनुपर्ने उल्लेख गर्दै तीनै तहका जनप्रतिनिधिहरू आफ्नो पार्टी, चुनाव जिताउने कार्यकर्ता र मतदाताप्रति उत्तरदायी नहुँदा समस्या आएको समेत बताउनुभयो ।

‘जनप्रतिनिधि पार्टीपंति र जनताप्रति उत्तरदायी हुन जरुरी छ’ उहाँले भन्नुभयो, ‘निर्वाचित जनप्रतिनिधि र सोही तहका पार्टी प्रतिनिधिबिच महिनामा एक पटक बैठक बस्ने, पार्टी र जनताको निर्देशन अनुसार प्रस्तुत हुने पार्टी विधानमै छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू