नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाउनुभएको छ । भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि आफूले प्रवद्ध व्यक्ति समूह (इपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर शुरु गरेको आफूलाई भारतीय दलाल भन्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । पार्टी स्थापना दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष भट्टराईले भारतसँगको समस्या समाधान गरौं भन्ने आफूलाई दलाल देख्ने तर कुर्सीका लागि भारतसँग लम्पसार गर्नेहरुलाई राष्ट्रवादी देख्ने भएकाले मुलुक बन्न नसकेको जिकिरसमेत गर्नुभयो।
भट्टराईले आफूले राजतन्त्रको अन्त्य गर्ने संकल्प लिएकाले कम्युनिष्ट पार्टीमा लागेको र त्यसको अन्त्य भएपछि छोडेको पनि स्पष्ट पार्दै भारतसँगको असमान सन्धि–सम्झौता खारेज गर्न पनि मुलुकमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको ठहर गर्नुभयो । उहाँले भन्नुभयो, ‘भारतसँगको सन्धि, सम्झौता जुन हुन्। प्रवुद्ध व्यक्ति समूहको आधारमा फेरि पुनर्लेखन गरौं भन्ने त बाबुरामले नै शुरु गरेको हो। र अहिले त्यो हरायो। उल्टो बाबुराम त भारतीय दलाल भयो भन्छन्। जसले प्रवुद्ध समूह बनाएर भारतसँग वार्ता गरेर यो समस्या हल गरौं र खुला सिमाना असमान सन्धि, सम्झौंता अंगे्रजका पालादेखि भए। त्यसलाई समयानुकुल बनाऔँ भन्नेचाहिँ दलाल। जसले आफ्नो कुर्सीको निम्ति यहाँ १२ हात उफ्रिन्छ, तर दिल्लीमा गएर लम्पसार पर्छ, ती चाहीँ राष्ट्रवादी रु भएपछि यो देश बन्छ रु’
भट्टराईले यिनै आधारभूत कुरालाई सच्याउने गरी नयाँ वैकल्पिक शक्ति आउनुपर्नेमा जोड दिनुभयो। अध्यक्ष भट्टराईले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन जनलोकपाल गठन गरेर अघि बढनुपर्ने प्रस्तावसमेत गर्नुभयो। दलहरुले आफ्नो मान्छेलाई नियुक्त गर्ने भएकाले विद्यमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायले भ्रष्टाचार अन्त्य गर्न नसक्ने उहाँको जिकिर थियो।