अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

फिफा विश्वकप छनोट खेल : नेपाल र यमनको खेल बराबरी

बिआरटीनेपाल २०८१ जेठ ३० गते ५:५२ मा प्रकाशित

फिफा विश्वकप – २०२६ र एएफसी एसियन कप–२०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ । साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा गएराति भएको खेलमा नेपाल र यमनको खेल २–२ को बराबरीमा सकिएको हो ।योसँगै अघिल्ला ५ खेलमा हार र गोलविहीन नेपालले बराबरीबाट अङ्क जोडेको छ । नेपालका फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले एक/एक गोल गरे । दुवै खेलाडीको यो अन्तर्राष्ट्रिय पहिलो गोल पनि हो । खेलको नवौँ मिनेटमा नसीम अल–गाहवाहीले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।

नेपालका लागि  खेलको २३ औँ मिनेटमा सञ्जीवले बराबरी गोल फर्काए । यस्तै जिलेस्पीजंगले ६६ औँ मिनेटमा गोल गरेपछि नेपालले खेलमा अग्रता लिएको थियो । तर इन्ज्युरी समयको पहिलो मिनेटमा यमनका मोहम्मद अल–दाहीले गोल गर्दा बराबरी भयो । नेपाल रहेको समूह ‘एच’ मा यूएई १६ अङ्कसहित शीर्ष र बहराइन ११ अङ्कसहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । पाँच अङ्क रहेको यमन र एक अङ्क जोडेको नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।

यसै खेलमा नेपालका गोलकिपर किरण लिम्बुले एकसय औँ अन्तर्राष्ट्रिय खेल खेले । एकसय औँ खेल खेल्ने उनी पहिलो नेपाली फुटबल खेलाडी हुन् । खेलपछि किरणलाई एक सय नम्बर लेखिएको जर्सी प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू