अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

चिप युद्धमा अरूलाई ‘उछिन्न’ चीनले साढे ४७ अर्ब डलरको कोष स्थापना गर्‍याे

बिआरटीनेपाल २०८१ जेठ १४ गते ६:५० मा प्रकाशित

चीनले विद्युतीय ‘चिप’ उद्योगलाई बढावा दिन साढे ४७ अर्ब डलरको कोष स्थापना गरेको छ । दक्षिण कोरियाले चिप उद्योगलाई सहयोग गर्न १९ अर्ब डलरको कोष बनाएको एक हप्ता नबित्दै चीनले साढे ४७ अर्ब डलरको कोष स्थापना गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।चिप उद्योगलाई सहयोग र बढावा दिन चीनले बनाएको यो तेस्रो कोष हो । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिप उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन र ठूलो मात्रामा निर्यात गर्ने योजनाका साथ काम गर्न निर्देशन दिएअनुसार कोष स्थापना गरिएको खबरमा उल्लेख छ ।

अहिले संसारमा ‘चिप युद्ध’ चलिरहेको र यसमा अरूलाई उछिन्ने अभियानमा रहेको चीनले जनाएको छ । संसारभर चिनियाँ चिपको दबदबा बढेपछि अमेरिकाले सुरक्षालगायतका कारण देखाएर चिनियाँ चिपको आयात रोकिदिएको छ । जापान, दक्षिण कोरियालगायतका आफ्ना मित्र देशहरूलाई पनि अमेरिकाले चिनियाँ चिपको आयात र प्रयोग कम गर्न घुमाउरो बाटोबाट दबाब दिइरहेको छ ।

तर चीन भने चिप उत्पादनमा आक्रामक हुने देखिएको छ । यसअघि सन् २०१४ मा एक खर्ब ३८ अर्ब र सन् २०१९ मा दुई खर्ब चार अर्ब युआनको कोष बनाएर चीनले चिप उद्योग र उत्पादनलाई सहयोग गरेको थियो । हरेकजसो विद्युतीय सामग्रीमा चिपको प्रयोग हुन्छ । केही समयअघि केही अमेरिकी कम्पनी चिपको अभावमा समस्यामा परेका समाचार आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू