अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

बंगालको खाडीमा शक्तिशाली चक्रवात : नेपालकाे पूर्वी भागमा दुई दिन असर गर्ने

बिआरटीनेपाल २०८१ जेठ १३ गते ५:२५ मा प्रकाशित

बंगालको खाडीमा उत्पन्न ‘रेमल’ नामक शक्तिशाली चक्रवातको सामान्य असर नेपालमा पनि पर्ने मौसमविद्ले बताएका छन् । रेमल नामकरण गरिएको बंगालको खाडीको सो चक्रपातबाट नेपालको पूर्वी क्षेत्रमा सामान्य असर पर्ने जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाका मौसमविद् निरु महर्जनले जानकारी दिनुभयो । नेपालको सम्पूर्ण भूभागमा असर नपरे पनि यसको अप्रत्यक्ष रूपमा पूर्वी क्षेत्रमा असर पर्ने महर्जनले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘सोमबार र मङ्गलवार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक तथा साधारणतया बदली रही कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको बर्सातको सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ । कोशी प्रदेशको तराईका भूभाग तथा मधेश प्रदेशका भूभागहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।’

यो चक्रवातको असर मंगलबारसम्म रहने मौसमविद् महर्जनले जानकारी दिनुभयो । मंगलबारसम्म देशको पूर्वी भागमा बादल लाग्ने, पानी पर्नेजस्ता हल्का असर देखिने महर्जनको भनाई छ । बंगालको खाडीमा यस्ता चक्रवातहरु निरन्तर रूपमा बन्ने र माथिल्लो भागमा जाने क्रम नियमित जस्तो भइरहने उहाँले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो– ‘कतिपय चक्रवात नेपालको तर्फ आउने हुँदा त्यसको असर पर्छ भने कतिपय चक्रपात भने नआउने हुन्छ । चक्रवात जति माथि उचाइमा पुग्यो त्यसको असर नेपालमा पर्ने बढी सम्भावना हुन्छ, चक्रपातले उचाई लिएन भने त्यसको असर कम पर्ने हुन्छ ।’

हाल देशमा भइरहेको बदली र वर्षा भने पश्चिमी वायुको प्रभावका कारण भइरहेको मौसमविद्हरूको भनाई छ । यो चक्रवातका कारण भारतको पश्चिम बंगाल, ओडिसा लगायतका क्षेत्रमा असर पुर्याउने जनाइएको छ । भारतले कोलकोता विमानस्थलमा आज दिउँसोदेखि २१ घण्टासम्मका लागि हवाई सेवा बन्द गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू