अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

ताइवानका राष्ट्रपतिद्वारा चीनसँग समझदारी र सहकार्यको प्रस्ताव

बिआरटीनेपाल २०८१ जेठ १३ गते ५:१२ मा प्रकाशित

चीनले आफ्नो भूमिमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरेको दुई दिनपछि ताइवानले चीनसँग समझदारीको खाँचो रहेको बताएको छ । ताइवानका राष्ट्रपति लाई चिंग तेले चीनप्रति सद्भावना व्यक्त गर्दै चीनसँग सहकार्यको प्रस्ताव गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ताइवानका राष्ट्रपति लाई ले आपसी समझदारी र मेलमिलाप बढाउन आफू तत्पर रहेको बताउनुभएको खबरमा उल्लेख छ । चीनसँग सहयोगको आदानप्रदानका माध्यमबाट आपसी समझदारी र मेलमिलाप बढाउन, आपसी लाभ सिर्जना गर्न र शान्ति र साझा समृद्धिमा जानको लागि ताइवान तयार रहेको उहाँको भनाई छ । उहाँले चिनियाँ अभ्यासप्रति चिन्ता व्यक्त गरेकोमा संयुक्त राज्य अमेरिका र अन्य देशलाई धन्यवाद पनि दिनुभएको छ ।

चीनले ताइवानलाई आफ्नै भूमि दाबी गर्दै गएको बिहीवार शुक्रवार सैन्य अभ्यास गरेको थियो  । राष्ट्रपतिको सपथ लिए लगत्तै ताइवानका राष्ट्रपतिले आफ्नो देशको सार्वभौमसत्तामाथि प्रश्न नउठाउन चेतावनी दिएपछि चीनले दुई दिनसम्म जल, स्थल र वायु सेनाद्वारा ताइवानलाई घेर्दै सैन्य अभ्यास गरेको थियो ।

चीनले यसलाई ताइवानका राष्ट्रपतिको भाषणविरुद्धको सजाय भनेको थियो । चीनले ताइवानका राष्ट्रपतिलाई बारम्बार ‘पृथकतावादी’ भनेर निन्दा गरेको छ । लाईले बारम्बार वार्ताको प्रस्ताव गरे पनि चीनले अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू