अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 08:55

राष्ट्रिय साइबर सुरक्षा केन्द्रले काम थाल्याे

बिआरटीनेपाल २०८१ जेठ १० गते ६:५९ मा प्रकाशित

सरकारले ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ को आकाङ्क्षा पूरा गर्ने उद्देश्यअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएर काम शुरु भएको छ । सिंहदरबारको पुरानो गृह मन्त्रालयमा कार्यालय रहेको केन्द्रले आफ्नो काम शुरु गरेको मन्त्रालयका उपसचिव तथा साइबर सुरक्षा शाखा प्रमुख राजकुमार महर्जनले जानकारी दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्द्धन, जनचेतना अभिवृद्धि, साइबर सुरक्षासम्बन्धी तयारी, चुनौतीको पहिचान, रोकथाम, प्रतिक्रिया तथा पुनर्लाभलगायत कामको सम्पर्क निकायका रूपमा काम गर्न तथा डिजिटल फोरेन्सिक अनुसन्धान गर्न केन्द्रको स्थापना गरिएको उहाँले बताउनुभयो ।

गएको माघ ९ गतेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । केन्द्र सञ्चालन गर्न १२ जना कर्मचारीको संरचना बनेको छ । पछिल्लो समयमा विभिन्न देशमा साइबर असुरक्षा बढ्दै गएको र नेपालको सन्दर्भमा अझै बढी असुरक्षा बढ्दै गएको सन्दर्भलाई ख्याल गरेर केन्द्र स्थापना गरिएको हो ।

शाखा प्रमुख महर्जनका अनुसार केन्द्रले संवेदनशील सूचना पूर्वाधारको चौबीसै घण्टा अनुगमन, साइबर घटना तथा जोखिम मूल्याङ्कन, आकस्मिक रूपमा आइपर्ने साइबर जोखिमलाई समाधान गर्न प्राविधिक जनशक्तिसहितको आकस्मिक सहायता समूह गठन गरेकाे छ । यस्तै केन्द्रले आकस्मिक रूपमा आइपर्ने साइबर जोखिमलाई समाधान गर्न प्रदेश तथा पालिकाले आकस्मिक सहायता समूह गठन गर्नेलगायत काम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू