अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५६ | Colorodo: 04:11

प्यालेस्टिनी राज्यलाई मान्यता दिने आयरल्यान्ड, नर्वे र स्पेनको निर्णय

बिआरटीनेपाल २०८१ जेठ १० गते ६:५५ मा प्रकाशित

आयरल्यान्ड, नर्वे र स्पेनले प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका छन् । यी तीन वटै देशले यही मे २८ तारिखदेखि लागू हुने गरी प्यालेस्टाइनलाई स्वतन्त्र देशको मान्यता दिने घोषणा गरेका बीबीसीले जनाएको छ ।स्पेनले यो निर्णय इजरायलकोविरुद्धमा नभएको र हमासको पक्षमा नभएको उल्लेख गर्दै यो निर्णय शान्तिको पक्षमा भएको बताएको छ ।प्यालेस्टाइन लिबरेशन अर्गनाईजेसन (पीएलओ) र इस्लामिक समूह हमासले युरोपेली राष्ट्रहरूले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यका रूपमा दिएको मान्यताप्रति आभार प्रकट गर्दै निर्णयको स्वागत गरेका छन् ।

हमासले गएको अक्टोबर ७ तारिखमा इजरायलमाथि आक्रमण गरेपछि इजरायलले गाजामा कारबाही केन्द्रित गर्दा यस क्षेत्रमा अझै युद्ध चलिरहेको छ । आयरल्यान्ड, नर्वे र स्पेनले गाजा युद्धको सात महिनापछि प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गरेका हुन् ।हमासले यसलाई आफ्नो भूमिमा आफ्नो अधिकार पुष्टि गर्ने दिशामा एक महत्त्वपूर्ण कदम ठानेको छ । साथै हमासले विश्वभरका देशलाई आफ्नो वैध राष्ट्रिय अधिकारलाई मान्यता दिन विज्ञप्तिमार्फत आह्वान गरेको छ ।

अमेरिकालगायत धेरैजसो पश्चिमा सरकार प्यालेस्टिनी राज्यलाई मान्यता दिन इच्छुक छन् तर यसका लागि प्यालेस्टाइनको अन्तिम सीमा र जेरुसेलमको स्थितिजस्ता जटिल मुद्दामा सहमति हुनु आवश्यक हुने उनीहरूको धारणा रहेको छ । यसैबीच प्यालेस्टाइनलाई देशको मान्यता दिने यो कदमको इजरायलले भने कडा विरोध गरेको छ । इजरायलले इजरायल, नर्वे र स्पेनका आफ्ना राजदूतलाई पनि फिर्ता बोलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू