अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१३ | Colorodo: 19:28

ताइवानलाई घेर्दै चीनद्वारा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास, ‘आफ्नो भूमि जोगाउन जेसुकै गर्न तयार’

बिआरटीनेपाल २०८१ जेठ १० गते ६:५३ मा प्रकाशित

चीनले ताइवानको क्षेत्रमा ठूलो सैन्य अभ्यास गरेको छ । ताइवानका नयाँ राष्ट्रपति विलियम लाईले चीनको विरुद्धमा गरेको टिप्पणीलाई जवाफ दिन चीनले आजदेखि ठूलो सैन्य अभ्यास शुरु गरेको बीबीसीले जनाएको छ । बेइजिङले यो अभ्यासलाई ‘पृथकतावादी कार्यका लागि टापुलाई दिने सजाय’ भनेर उल्लेख गरेको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार यो अभ्यास भोलि पनि हुनेछ ।

तीन दिनअघि मात्र शपथ लिएका ताइवानका राष्ट्रपति लाईले ताइवान एक स्वतन्त्र र प्रजातान्त्रिक देश भएको दाबी गर्दै अनावश्यक हस्तक्षेप नगर्न चीनलाई चेतावनी दिनुभएको थियो । चीनले भने ताइवानलाई आफ्नो भूमि मान्दै आएको छ । चीनले आफ्नो भूमि जोगाउन जस्तोसुकै कदम चाल्ने घोषणा गरेको छ । आज चीनका ४२ वटा लडाकु विमान ताइवानको हवाई क्षेत्रमा पुगेका छन्, १६ वटा सैन्य पानी जहाजले पनि यसअघि कहिल्यै नतोडेको घेरा तोडेर ताइवान नजिकै पुगेका खबरमा उल्लेख छ ।

चिनियाँ सैन्य अभ्यासविरुद्ध ताइवानको रक्षा मन्त्रालयले कडा शब्दमा आपत्ति जनाएको छ । साथै देशको सम्प्रभुता रक्षाका लागि आफ्नो नौसेना, वायु तथा स्थल सेना तयारी अवस्थामा रहेको ताइवानी रक्षा मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । ताइवानले चीनलाई तर्कहीन अभ्यास रोक्न आग्रह पनि गरेको छ ।

ताइवानको भूमि मामिला परिषद्का प्रवक्ता लिआङ्ग वेन–चीहले चिनियाँ अभ्यासको विरोध गर्दै तर्कहीन सैन्य उक्साहट रोक्न आग्रह गर्नुभएको छ । आज चीनले गरेको ठूलो अभ्यास ताइवानलाई मात्र नभई उसका सहयोगीलाई पनि चेतावनी भएको रक्षा विश्लेषकहरूले बताएका बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू