अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

टी–२० विश्वकपअघि क्यानडाका प्रशिक्षक पुबुदु दासानायके बर्खास्त

बिआरटीनेपाल २०८१ जेठ १० गते ६:५२ मा प्रकाशित

आईसीसी टी–२० विश्वकप क्रिकेट शुरु हुनु केही दिनमात्र बाँकी रहँदा क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई पदबाट बर्खास्त गरेको छ । सन् २०२२ को जुलाई महिनादेखि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका पुबुदुलाई क्यानडाले पदबाट हटाएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकबजले जनाएको छ ।

श्रीलङ्का र क्यानडाका पूर्वखेलाडीसमेत रहेका पुबुदु यसअघि सन् २०११ देखि २०१५ सम्म दुई पटक नेपालको प्रशिक्षक पनि बनेका थिए । यस्तै उनी अमेरिकाको प्रशिक्षक पनि बनेका थिए । पुबुदुले क्यानडाको प्रशिक्षकको रूपमा दोस्रो कार्यकाल सम्हाल्दा टोलीलाई छनोट चरण पार गराउँदै यस पटकको टी–२० विश्वकपमा पुर्‍याएका थिए । यस्तै उनकै नेतृत्वमा क्यानडाले सन् २०२३ विश्वकप क्वालिफायर प्लेअफमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता प्राप्त गरेको थियो ।

क्यानडा क्रिकेट सङ्घमा नयाँ नेतृत्व आएपछि विश्वकपका लागि खेलाडी छनोटको विषयलाई लिएर पदाधिकारी र प्रशिक्षकबीचबीच विवाद देखिएको खबरमा उल्लेख छ । यस्तै केही खेलाडीले प्रशिक्षक पुबुदु दासानायकेप्रति असन्तुष्टि जनाएका बताइएको छ । नवौँ संस्करणको टी–२० विश्वकप यही जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू