अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४६ | Colorodo: 20:01

प्रतिशोध साँध्ने उद्देश्यले भएको राज्य शक्तिको दुरूपयोग अस्वीकार्य: नेपाल बार

बिआरटीनेपाल २०८१ जेठ ९ गते ५:१३ मा प्रकाशित

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि नेपाल बार एसोसियसनले प्रतिशोध साँध्ने उद्देश्यले राज्य शक्तिको दुरूपयोग स्वीकार्य नहुने बताएको छ। बुधबार अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र महासचिव अधिवक्ता अन्जिता खनालले विज्ञप्ति जारी गर्दै राज्य शक्तिको दुरूपयोग स्वीकार्य नहुने बताउनुभएको हो । मंगलबार अध्यक्ष सिरोहियालाई ग्रुपको केन्द्रीय कार्यालयलाई घेरा हालेर प्रहरीलाई प्रवेश गराई नाटकीय ढंगले पक्राउ गरेको भन्दै एसोसियसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

‘नागरिकको अभिव्यक्ति स्वतन्त्रता र आलोचनालाई मुखरित गर्ने स्रोतको रूपमा रहेको पत्रकारिता जगतमाथि प्रहार गरिनु लोकतन्त्र माथिकै प्रहार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘प्रतिशोध साँध्ने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनसायबाट हुने राज्य शक्तिको दुरूपयोग किमार्थ स्वीकार्य हुँदैन।’ बारले सिंगो सञ्चार जगतलाई आतंकित पार्ने कार्यको घोर भर्त्सना गरेको छ।

‘लोकतन्त्र र सभ्य समाजको आधार स्तम्भको रूपमा रहेको आमसञ्चार जगतलाई आफू अनुकूल प्रयोग गर्ने मनसायबाट प्रेरित भई राज्य शक्तिबाट गरिने दमन जस्तो अलोकतान्त्रिक कार्यले व्यावसायिक सुरक्षामाथि आँच आउने र सिंगो मिडिया समुदायलाई आतंकित पार्ने र अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्ने हुँदा यस्तो प्रतिशोध राखी सिंगो सञ्चार जगतलाई आतंकित पार्ने कार्यको घोर भर्त्र्सना गर्दछौं,’ बारले भनेको छ।

नागरिकता सम्बन्धी कसुरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र केसी सहितको टोली कार्यालयमा पुगेर सिरोहियालाई पक्राउ गरेको थियो। धनुषा जिल्ला अदालतबाट मंगलबार नै पक्राउ पुर्जी जारी भएको थियो। उक्त पुर्जी जारी भएपछि कार्यालयको टोली कान्तिपुरको कार्यालयमा पुगेर पक्राउ गरेको हो। पक्राउ गरी उहाँलाई राति नै धनुषा पुर्‍याइएको थियो। सिरोहियालाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू