अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५३ | Colorodo: 23:08

सहकारी प्रकरणमा छानविन समितिको माग गर्दै कांग्रेसले गृहमन्त्रीविरुद्ध सडक आन्दोलन गर्ने

बिआरटीनेपाल २०८१ जेठ ९ गते ५:४० मा प्रकाशित

सहकारी रकम हिनामिनाबारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेसले सडक आन्दोलन गर्ने भएको छ। बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। सहकारी प्रकरणमा ससदीय छानबिन समिति गठनको माग गर्न सदन र सडकबाट सहकारी पीडितको पक्षमा आवाज उठाउने निर्णय गरिएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिनुभयो । सहकारी बचतकर्ताको बचत फिर्ता हुनुपर्ने मुख्य माग राख्दै पहिलो चरणमा यही शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने पनि संग्रौलाले बताउनुभयो ।

त्यसपछि ठगी भएका ठूला सहकारी रहेका सहर पोखरा, बुटवलमा आन्दोलन गर्ने उहाँको भनाइ छ। सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनमा अवरोध गर्दै आएको छ। सहकारीको बचत अपचलन, हिनामिना, ठगी र दुरूपयोगका सन्दर्भमा संसदीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सैद्धान्तिक सहमति भएको छ।

समितिको कार्यादेश तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा कार्यदलसमेत बनेको थियो। कार्यदलमा नेकपा (एमाले) प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सांसद जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल हुनुहुन्थ्यो । कार्यललको तीन चरणमा बैठक बसे पनि क्षेत्राधिकार टुंगो लागेको छैन। नेपाली कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री नै मुछिएको भन्दै उनको नाम लेखेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ। एमाले र रास्वपाले भने गृहमन्त्री जोडिएको भनिएको बुटवलको सुप्रिम र पोखराको सूर्यदर्शन सहकारीको नाम अनुसूचीमा लेखेर जानुपर्ने बताएपछि कुरा मिल्न नसकेको हो। संसदीय छानबिन समिति नबनाइ सत्तापक्षले पेलेरै सदन चलाएको भन्दै प्रतिपक्षी कांग्रेस रुष्ट छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू