अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

कामीरिता शेर्पा ३० औँ पटक सगरमाथा शिखरमा

बिआरटीनेपाल २०८१ जेठ ९ गते ४:४८ मा प्रकाशित

कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गर्नुभएको छ । सगरमाथा आधार शिविरमा रहेकाे पर्यटन विभागको अस्थायी कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार उहाँ आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुग्नुभएको हो ।वसन्त ऋतुको जारी आरोहणमा उहाँले यसअघि धेरै पटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेर नयाँ रेकर्ड कायम गर्नुभएको छ । यसअघि उहाँले वैशाख ३० गते २९ औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो । गौतमकाअनुसार आजसम्म आरोही र शेर्पा सहयोगी गरी चार सय ६० जनाभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् ।

सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेका ५४ वर्षीय कामीरिता कुशल पर्वतारोही पथप्रदर्शक हुनुहुन्छ । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

सगरमाथा आरोहणका ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एकमात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुनुहुन्छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको थियो । गएको वैशाख २८ गतेदेखि यो वर्षको आरोहण शुरु भएको हो । आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अनुमति लिएकामध्ये ७५ प्रतिशतले सफल आरोहण गरेका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू