अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

संसदलाई ब्यारेक बनाइएको कांग्रेसको आरोप

बिआरटीनेपाल २०८१ जेठ ८ गते ४:३८ मा प्रकाशित

। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख र सत्तारुढ दलहरुको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएको छ । सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गरेर संसद बैठकमा नाराबाजी गरिरहेको नेपाली कांग्रेसले सभामुख र सत्तारुढ दलहरुको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएको हो ।मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेसका सांसदहरुले सत्ताले संसदलाई ब्यारेक बनाएको बताएका हुन् । उनीहरुले संसदलाई ब्यारेक जस्तो बनाएर सभामुखले आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा बैठक सञ्चालन गर्नुभएको पनि बताएका छन् ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले संसदमा बल प्रयोग गरेर लोकतन्त्रका मुलभुत मुल्य र मान्यतामाथि प्रहार गरिएको बताउनु भयो । उहाँले सत्तापक्षबाट संविधान र संघीय शासन प्रणालीमाथि नै धावा बोल्ने काम भएको जिकिर गर्नुभयो । उहाँले प्रतिपक्ष दलको अवरोध भइरहँदा संसद बैठक सञ्चालन हुनु भत्र्सनायोग्य भएको भन्दै सरकारको यस कदमको प्रतिरोध गरिने बताउनुभयो । उहाँले सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन भएको प्रस्ताव संसदमा नआएसम्म आफूहरुको अवरोध जारी रहने पनि बताउनुभयो । सांसद पाण्डेले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक २०८० संसदबाट फिर्ता लिनुको आशय दलहरु फुटाउनलाई सहजता प्रदान गर्नु रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सभामुखले संसदलाई ब्यारेकजस्तो बनाएर आफ्नो गरिमा, मर्यादा, संसदीय परम्परा र संसदीय अभ्यासको बर्खिलापमा जबरजस्ती बैठक सञ्चालन गर्नुभएको बताउनुभयो । उहाँले संसदीय छानविन समिति बनाउने कुरामा अलमल गरेर एमाले अध्यक्ष केपी ओलीले खेल खेलिरहनुभएको बताउनु भयो । उहाँले अवरोधका बीच संसद बैठक चलाउनुले संसदीय परम्परामाथि कालो धब्बा लागेको पनि बताउनुभयो ।

नेपाली कांग्रेसकै सांसद रामहरी खतिवडाले संसद बैठकमा सभामुखको कामप्रति नेपाली कांग्रेसको विरोध रहेको बताउनुभयो । उहाँले गृहमन्त्रीले राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक २०८० फिर्ता लिएर अध्यादेश ल्याइ पार्टीहरु फुटाउनेतिर लाग्न लागेको आरोप लगाउनुभयो । नेपाली कांग्रेस सांसद कल्पना चौधरीले संसद बैठकस्थलमा मर्यादापालकहरुले सांसदहरुलाई अमर्यादित व्यवहार गरेका बताउनुभयो । उहाँले मर्यादापालकहरुको संख्या बढाएर कांग्रेसका सांसदहरुमाथि आक्रमण गर्न लगाइएको बताउनु भयो । उहाँले प्रधानमन्त्री स्वयं आफूहरुमाथि जाइलाग्न खोजेको आरोप पनि लगाउनुभयो ।

नेपाली कांग्रेसका सांसदहरुले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगि प्रकरणमा छानविन गर्न संसदीय छानविन समिति नबनेसम्म संसद बैठक चल्न नदिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू