अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गर्‍यो सन् २०२३ को विश्वको मानवअधिकारको अवस्था

बिआरटीनेपाल २०८१ वैशाख १२ गते ७:५१ मा प्रकाशित

एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा विश्वको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २०२३ को विश्वव्यापी मानवअधिकारको अवस्था बारे एम्नेस्टी इन्टरनेसनलको प्रतिवेदन ‘विश्वको मानवअधिकार अवस्था’ सार्वजनिक गरेको हो । प्रतिवेदनका अनुसार सन् २०२३ मा विश्वभरमा मुख्यगरी मानव अधिकार उल्लंघनका चार वटा प्रवृत्ति देखा परेको बताइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले सन् २०२३ मा संसारभर मानव अधिकार उल्लंघनका घटना व्यापक रुपमा देखिएको बताउनुभयो । उहाँले सरकारहरुले द्वन्द्वका क्रममा सर्वसाधारणलाई फाल्तुको वस्तुको रुपमा व्यवहार गरेको देखिएको बताउनुभयो । सरकारहरुले नागरिकको सुरक्षाका लागि गर्नुपर्ने जिम्मेवारीलाई नजरअन्दाज गरेको र द्वन्दरत पक्षहरुले द्वन्द्वको नियम र मानविय कानुनहरुलाई बेवास्ता गर्दै मानव अधिकारको उल्लंघन गरेको पाइएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै महिला, बालबालिका, यौनिक अल्पसंख्यकहरुको अधिकार खोसिएको पाइएको पनि निर्देशक थपलियाले बताउनुभयो । त्यस्तै, सिमान्तकृत समुदाय, महिला, बालबालिका, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारबाट जोखिममा परेका समुदायहरु जलवायु परिवर्तनको प्रभावमा परेका र उनीहरुको मानव अधिकार संरक्षण तथा संवद्र्धन गर्न सरकारहरु विफल भएको पाइएको उहाँले बताउनुभयो । त्यसैगरी एआई प्रविधिका कारण मानव अधिकारमा थप संकट पैदा भएको पनि उहाँले बताउनुभयो ।

सरकारहरुले अन्तर्राष्ट्रिय कानूनको अवहेलना गर्दा द्वन्दमा परेका सर्वसाधारणहरुहरु पीडित बन्नुपरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसैगरी निर्वाचनहरुमा प्रविधिको प्रयोगगरी घृणा, विभाजन र विभेद भड्काउने खतरा रहेको पनि प्रतिवेदनमा जनाइएको छ । एम्नेस्टी इन्टरनेसनलको सो प्रतिवेदन १५५ देशहरुको मानव अधिकारको अवस्थाको मूल्यांकनसहित तयार गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू