अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:११ | Colorodo: 22:26

उपनिर्वाचन सुरक्षा: कसैमाथि शंका लागेमा सुरक्षाकर्मीले कारबाहीका लागि थप आदेश लिनु नपर्ने

बिआरटीनेपाल २०८१ वैशाख १० गते ८:११ मा प्रकाशित

निर्वाचन आयोगले इलाम–२ र बझाङ– १९१०मा यही वैशाख १५ हुन गइरहेको उपनिर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन भन्दै ३ बुँदे निर्णय गरेको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिस समेतका आधारमा सोमवार बसेको आयोगको बैठकले विभिन्न ३ बुँदे निर्णय गरेको उपसचिव एवम् आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतामा आँच आउने कुनै कार्य भएको वा हुन सक्ने शंका लागेमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले कारबाहीका लागि थप आदेश लिनु नपर्ने निर्णय आयोगले गरेको छ । यस्तै निर्वाचन क्षेत्रमा अनधिकृत एवम् शंकास्पद व्यक्तिको प्रवेश र तिनका गतिविधिमा उच्च निगरानी राख्ने निर्णय भएको आयोगले जनाएको छ ।

यसैगरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकुल प्रभाव नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनको लागि यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत निर्देशन दिने पनि निर्णय भएको छ । ‘कुनैपनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था आउन नदिन मुख्य निर्वाचन अधिकृतमार्फत, मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई र जिल्ला सुरक्षा समितिमार्फत मतदान केन्द्र तथा घुम्ती टोलीमा खटिने सुरक्षाकर्मीहरूलाई निर्देशन दिन गृह मन्त्रालयमार्फत लेखी पठाउने निर्णय पनि भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू