अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३३ | Colorodo: 15:48

मोहन वैद्यको टिप्पणीः एमालेको उद्देश्य ‘भाइ कांग्रेस’ बन्ने हो

बिआरटीनेपाल २०८१ वैशाख १० गते ७:२८ मा प्रकाशित

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले नेकपा ९एमाले०ले आफूलाई भाइ कांग्रेस बनाउनका लागि नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हीरक जयन्ती मनाएको टिप्पणी गर्नुभएको छ । सोमबार १५५ औँ लेनिन जयन्तीको सन्दर्भमा पार्टीले आयोजना गरेको ‘साम्राज्यवादी युगमा लेनिनवादको महत्व’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष वैद्यले एमालेले गतिलो भाइ कांग्रेस बन्नका लागि हीरक जयन्ती मनाएको टिप्पणी गर्नुभयो।

उहाँले एमालेले हीरक जयन्ती मनाउनुको उद्देश्य २०८४ मा हुने चुनाव जितेर प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउनु रहेको बताउनुभयो। अध्यक्ष बैद्यले सत्तामा रहेका एमाले, माओवादी केन्द्र, र एकीकृत समाजवादी कम्युनिष्ट पार्टी नभएको जिकिर गर्दै कम्युनिष्ट आन्दोलन दुई धारमा बाँडिएको र सत्तामा भएका कम्युनिष्ट पार्टीहरु दक्षिणपन्थी अवसरवादी धारमा रहेका बताउनुभयो ।

उहाँले सत्तामा रहेका कम्युनिस्ट पार्टी र कांग्रेसका बीचमा कुनै तात्विक र मौलिक भिन्नता नभएको बताउनुभयो। बैद्यले सत्ताधारी कम्युनिष्टहरुले नेपालको वामपन्थी जनमतलाई भ्रममा पार्नका लागि मात्रै कम्युनिष्ट नाम राखेका आरोप लगाउनुभयो। उहाँले क्रान्तिकारी कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको भन्दै एकीकृत गर्दै लगिने बताउनुभयो।

बैद्यले थप्नुभयो,,’‘त्यो जयन्तीको उद्देश्य के हो भन्नुहुन्छ भने २०८४ मा हुने चुनावमा चुनाव जित्ने, प्रतिक्रियावादी राज्यसत्ता, दलाल नोकरशाही पुँजीवाद र संसदीय व्यवस्थालाई अझ बलियो बनाउने। दाइ कांग्रेस त छँदै छ, गतिलो भाइ कांग्रेस बन्ने। यो उद्देश्यमा आधारित छ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू