अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

महिला सांसदहरुलाई हतोत्साहित नगरौँ : उपाध्यक्ष घिमिरे

बिआरटीनेपाल २०८१ वैशाख ९ गते ६:२३ मा प्रकाशित

राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले महिला सांसदहरुलाई हतोत्त्साहित गर्न नहुने बताउनुभएको छ । आइतवार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग भेट गर्दै उपाध्यक्ष घिमिरेले महिला सांसदहरुले बोलेको कुरालाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेको भन्दै उहाँहरुलाई अत्याउने र हतोत्साहित गर्नु नहुने बताउनुभएको हो । उहाँले महिला सांसदहरुले संसदमा बोलेको कुरालाई लिएर ०६४ सालको संविधान सभादेखि नै टिका टिप्पणी गरिने गरेको बताउनुभयो ।

उपाध्यक्ष घिमिरेले महिला सांसदहरुको क्षमतामाथि समेत प्रश्न उठाइने गरेको भन्दै त्यसो गर्नु नहुने बताउनुभयो । उहाँले संविधानले महिलालाई दिएको अधिकारको प्रयोग गरेर सांसद भएकाहरुलाई अनावश्यक टिकाटिप्पणी गर्नु नहुने बताउनुभयो । उहाँले विगतका राजनीतिक आन्दोलनमा सक्रिय भुमिका खेलेका महिलाहरुलाई सांसद बनाउँदा उहाँहरुमा बोल्ने कलाको विकास नहुनु स्वभाविक भएको भन्दै त्यसलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष घिमिरेले व्यक्तिको बोल्ने तरिका फरक–फरक हुने गरेको भन्दै सांसदहरुले जुन तरिकामा भएपनि आफ्नो भावना व्यक्त गर्ने गरेका बताउनुभयो । उहाँले सांसदहरुको भावनालाई लिपिवद्ध गर्ने व्यवस्था रहेको भन्दै कतिपय महिला सांसदहरुले बोलेको कुरालाई भावमा बुझ्नुपर्ने बताउनुभयो । उहाँले महिला सांसदहरुको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पहिले पहुँच दिएर मात्रै क्षमता अभिवृद्धिको कुरा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिला हुनासाथ क्षमताविहिन र पुरुष हुनासाथ क्षमता भएको नहुने भन्दै ती कुराहरु परिस्थिति अनुरुप हुने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘क्षमताको विकास गर्नुपर्छ । त्यो सकारात्मक कुरा हो । तर क्षमता विकास भइसकेकालाई ल्याउने कि ? त्यो क्षेत्र, समुदायलाई समेटेर यहाँ ल्याउने भन्नेकुरा हाम्रो व्यवस्था अनुसार गर्ने हो । हिजो महिलाहरु आन्दोलनका लागि लड्नुभएको हो । लडाइँमा अग्रपंक्तिमा रहनुभएका महिला माननीयहरु अहिले आएर संसदमा बोल्न सक्नुहुन्न नि त । हामी आफैँ के भन्छौँ भने पार्टीहरुले उम्मेदवार दिदाँखेरी पैसावाला खोजेर दियो । पहुँचवाला खोजेर दियो । आफ्ना मान्छे खोजेर दियो भनेर त्यो कुरा उठाइरहँदा सामान्यतया हिजो काम गरेका मान्छेलाई ल्याउनुप¥यो । हिजो भुगोलमा काम गरेका साथीहरु जनतासँग जोडिनुभएको छ ।’

उपाध्यक्ष घिमिरेले उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष तथा स्थानीय तहको उपप्रमुखको पद महिलाहरुकै लागि हो भन्ने मानसिकता बनेको भन्दै त्यसलाई चिर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय सभा उपाध्यक्षको आफ्नै अधिकारहरु रहेको भन्दै सो पद अध्यक्षको छायाँको रुपमा नरहेको बताउनुभयो । उहाँले उपाध्यक्षको अधिकारलाई बढाएर सो पदमा पुरुषहरु पनि आकर्षित हुने अवस्था बनाउनुपर्ने बताउनुभयो । उहाँले समाजमा पुरुषप्रधान मानसिकता रहेको भन्दै त्यस्तो प्रकारको विचारकै पुनःसंरचना गर्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षको रुपमा आफूले प्रभावकारी भुमिका खेल्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू