अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०९ | Colorodo: 17:24

युक्रेनले गर्‍यो ड्रोन आक्रमण, रुसी इन्धन डिपोमा आगो

बिआरटीनेपाल २०८१ वैशाख ८ गते ८:५८ मा प्रकाशित

युक्रेनले शनिबार बिहान रुसतर्फ ड्रोन आक्रमण गरेको र त्यसका कारण रुसी इन्धन डिपोमा आगो लागेको अधिकारीहरूले बताएका छन् । रुसको बेल्गोरोड क्षेत्रका गभर्नर भासिली एनोखिनलले युक्रेनको सीमापार आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको र युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रुसी आक्रमणमा परी दुईजनाको मृत्यु भएको बताएका छन् ।

युक्रेनको रक्षा क्षेत्रका एक स्रोतले एएफपीलाई बताएअनुसार किभले रुसको सैन्य–औद्योगिक परिसरलाई खुवाउने ऊर्जा पूर्वाधारका निम्ति ‘ठूलो आकारको’ ड्रोन आक्रमण गरेको थियो । युक्रेनको सुरक्षा सेवा (एसबीयू), सेना र सैन्य गुप्तचर निकायको यो ‘संयुक्त अभियान’ भएको भन्दै स्रोतले भन्यो, “कम्तीमा तीनवटा विद्युतीय सबस्टेसन र एउटा इन्धन भन्डारण केन्द्रमा आगलागी भएको छ ।”

रुसको रक्षा मन्त्रालयले रातिमा आएका ५० युक्रेनी ड्रोनलाई रोकेको जनाएको छ । रोकिएका ड्रोनमध्ये केही राजधानी मस्कोनजिकैको सीमाबाट सयौँ किलोमिटर टाढा थिए । रुसको पश्चिमी स्मोलेन्स्क क्षेत्रको एउटा इन्धन डिपोमा ठूलो आगलागी भएको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको छ । “वायु रक्षा बलले हवाई वाहनहरूलाई गोली हानी आक्रमण विफल पार्ने प्रयास गरे पनि भग्नावशेष खसेपछि इन्धन र लुब्रिकेन्ट्स भएको ट्यांकीमा आगो लागेको छ,” गभर्नर एनोखिनले भनेका छन् ।

हालैका महिनाहरूमा रुसी तेल र ग्यास सुविधाहरूमा युक्रेनी आक्रमण बढेका छन् । यसलाई युक्रेनले रुसको युद्धलाई बढावा दिन प्रयोग गरिएको पूर्वाधारमा ‘निष्पक्ष’ प्रतिशोधको भाग भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू