अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२५ | Colorodo: 14:40

विराटनगरमा रामनवमीमा निकालिएको र्‍यालीका क्रममा झडप

बिआरटीनेपाल २०८१ वैशाख ५ गते ७:१८ मा प्रकाशित

विराटनगरको सीमा क्षेत्र रानीमा राम नवमीका अवसरमा निकालिएको र्‍यालीमा अवरोध सिर्जना भएपछि झडप भएको छ । बुधबार दिउँसो रानी क्षेत्रमा रामनवमीको अवसरमा युवाहरुको एक समूहले मोटरसाइकल र्‍याली विराटनगरको १५ र १७ नम्बर वडास्थित मुस्लिम बस्तीतर्फ प्रवेश गर्ने क्रममा झपड भएको प्रहरीले जनाएको छ । विराटनगर–१५ स्थित रामजानकी मन्दिर र विराटनगर–१३ को नहर चोकबाट हिन्दु सम्राट नेपाल मोरङका अध्यक्ष बलराम यादवको नेतृत्वमा दिउँसो र्‍याली निकालिएको थियो ।

उक्त र्‍याली मुस्लिम बस्तीमा पुगेपछि तनाव सुरु भएको प्रहरीको भनाइ छ । मोटरसाइकल र्‍यालीलाई विराटनगर–१५ मा केही स्थानीयले रोक्ने प्रयास गर्दा दुई समूहबीच केहीबेर ढुंगा हानाहान भएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले लाठी चार्जसँगै हवाई फायर र आश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । सोही क्रममा पाँच जना प्रहरी घाइते भएका छन् । उनीहरुको अवस्था हाल समान्य रहेको बताइएको छ ।

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गर्नुपरेको मोरङ प्रहरी प्रमुख कार्कीले बताउनुभयो । त्यसैगरी हाल घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरि स्थित नियन्त्रणमा लिइएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो। प्रजिअ भटटराईले घटना भएको क्षेत्र वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । प्रशासनले घटनालाई सामान्य बनाउने क्रममा सबैलाई संयमता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू