अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२ | Colorodo: 14:07

विपद्का घटनाबाट गएको वर्ष चार सय ९३ जनाको ज्यान गयो, पाँच अर्ब रुपैयाँभन्दा धेरैको क्षति

बिआरटीनेपाल २०८१ वैशाख ३ गते ८:५८ मा प्रकाशित

२०८० सालमा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको ज्यान गएको छ । विपद्जन्य घटनाबाट ३१ जना बेपत्ता भएका छन् भने एक हजार छ सय १६ जना घाइते भएका छन् ।गएकाे वर्ष छ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार सात सय १६ परिवार प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले जानकारी दिनुभयो । विपद्जन्य घटनाका कारण पाँच अर्ब ४२ करोड ५६ लाख रुपैयाँको क्षति भएको छ ।

गएको वर्ष पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृतिक विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपातलगायतका घटना भएका थिए । गएको वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा धेरै एक सय ५५ जनाको ज्यान गएको छ । त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताउनुभयो । विभिन्न ठाउँमा भएका आगलागीका कारण एक सय छ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया