अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३२ | Colorodo: 13:47

एसीसी प्रिमियर कपमा घरेलु टोली ओमानको लगातार दोस्रो जित

बिआरटीनेपाल २०८१ वैशाख २ गते ८:३९ मा प्रकाशित

एसीसी प्रिमियर कप क्रिकेटमा घरेलु टोली ओमान लगातार दोस्रो खेलमा विजयी भएको छ । अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ २) मा आज भएको खेलमा ओमानले कम्बोडियालाई ६३ रनले हरायो ।ओमानले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कम्बोडियाले निर्धारित ११ ओभरमा ७ विकेट गुमाएर ९१ रनमात्र बनाउन सक्यो । कम्बोडियाका कप्तान भिमुक्ती बटले नट आउट ४१ रन बनाए । ओमानका अकिब इलियासले ह्याट्रिकसहित ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले ११ ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । ओमानका नसीम खुशीले ६९ रन बनाए । कम्बोडियाका शर्वन गोदारा, उत्कर्ष जैन र भिमुक्ती बटले समान २ विकेट लिए ।यो जितसँगै ओमान ४ अङ्कसहित समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । ओमानले पहिलो खेलमा बहराइनलाई ३ रनले हराएको थियो । कम्बोडिया लगातार दोस्रो हारसँगै तालिकाको पुछारमा छ ।

एसीसी प्रिमियर कपमा अहिले समूह ‘ए’ का साउदी अरेबिया र हङकङबीच खेल भइरहेको छ । हङकङ तालिकाको दोस्रो स्थानमा छ भने साउदी अरेबिया चौथो स्थानमा छ । हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराएको थियो भने साउदी अरेबिया मलेसियासँग १२ रनले पराजित भएको थियो । प्रतियाेगितामा भाेलि हङकङ र नेपाल तथा मलेसिया र कतार खेल्दैछन् । टी–२० फर्म्याटको एसीसी प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ ।

एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू