अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 14:33

सरकारको प्रारम्भिक कामकारवाही सकारात्मक : एमाले

बिआरटीनेपाल २०८१ वैशाख २ गते ८:२९ मा प्रकाशित

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले सरकारका प्रारम्भिक कामकारवाही सकारात्मक रहेको बताएको छ । पार्टी मुख्यालय च्यासलमा आइतवार अपरान्ह बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा नेताहरुले सरकारको प्रारम्भिक कामकारवाही सकारात्मक रहेको निष्कर्ष निकालेका हुन् ।बैठकले जनतामा अझ विश्वास जगाउने गरी काम गर्न पनि सरकारलाई सुझाव दिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो । उहाँले अहिलेको निराशालाई चिर्दै देशलाई बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाढि बढाउने कुरामा एमाले केन्द्रित रहेको दाबीसमेत गर्नुभयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘हामीले संक्षेपमा पछिल्लो राजनीतिक परिस्थितिको बारेमा पनि चर्चा गरेका छौ । गएको फागुन २१ गते नयाँ सत्ता समिकरण प्रारम्भ भएको छ । समग्रमा यो सकारात्मक छ । यसले देश जसरी बहुआयामिक समस्यामा फस्दै गएको थियो । त्यहाँबाट सही दिशातिर ल्याउन सफल भएको छ । र, यसलाई प्रभावकारी बनाउँदै, यसलाई सफल बनाउँदै हामीले हाम्रो राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, लोकतन्त्रलाई जनताको जीवनसँग जोडने, भ्रष्टाचार विरुद्धको अभियानलाई अझ प्रभावकारी ढंगले लैजाने, अवरुद्ध विकासका कामलाई नयाँ गति दिने र सर्वोपरी रुपमा जनतामा एउटा विश्वास जगाउने, अहिलेको निराशालाई चिर्दै देश बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाढि बढाउने कुरामा हामी केन्द्रित छौं । बैठकमा हामीले त्यही विषयमा छलफल गरेको छौं । र सरकारका प्रारम्भिक गतिविधिहरु, अहिले सुरु गरेको स्पिरिडहरु सकारात्मक छन् । अझ बढी सरकारले जनतालाई विश्वास जगाउने गरी काममा अझ गति ल्याओस भन्ने अपेक्षा छ ।’

एमालेले आफू नेतृत्वको नयाँ सत्ता समिकरणले देशलाई सही बाटोमा ल्याएको र विकास, निर्माणको कामलाई तिब्रताका साथ अघि बढाउने जिकिर गर्दै आएको छ । बैठकमा यही वैशाख ८ र ९ गते गोदावरीको सनराइज हलमा आयोजना गरिएको पार्टी महाविधेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गर्नुहुने राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले प्रश्तुत गर्नुहुने कामका समिक्षा सम्बन्धि प्रतिवेदन, पार्टीका चार वटा आयोगले पनि आफ्नो कामको प्रगति विवरण पेश गर्ने तय गरिएको पनि उपमहासचिव ज्ञवालीले बताउनुभयो । एमालेलाई आगामी निर्वाचनमा राष्ट्रिय शक्तिको रुपमा स्थापित गराउने गरी सो परिषद बैठकमा छलफल हुने उहाँले बताउनुभयो । सो महाधिवेशन प्रतिनिधि परिषद बैठकमा करिव २५ सय जति प्रतिनिधिहरु सहभागी हुने पनि एमालेले जनाएको छ ।

त्यसैगरी सचिवालय बैठकले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्ष पूरा गरेको उपलक्ष्यमा प्रमुख राजनीतिक दलहरुको सहभागितामा विशेष कार्यक्रम पनि बैशाख २० गते आयोजना गर्दैछ । त्यसमा प्रमुख राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने र कम्युनिष्ट पार्टीका मुख्यमुख्य गतिविधि समावेश गरेर बनाइएको डकुमेन्ट्री पनि प्रश्तुत हुने उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू