ओमनमा जारी एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको हो ।नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो । कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन । मोहम्मद अह्नाफले २३, हिमान्शु राथोड २२ र अदनान मिर्जाले १९ रनको योगदान दिए ।
बलिङमा नेपालका ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले दुईदुई, अभिनास बोहरा र कुशल मल्लले एकएक विकेट लिए ।यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २१ बलमा ६४ रनको आक्रामक अविजित खेले । दीपेन्द्रले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका थिए । योसँगै उनी एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाचौं खेलाडी बनेका छन् ।