अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 08:59

डोल्पा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु

बिआरटीनेपाल २०८१ वैशाख १ गते ७:३७ मा प्रकाशित

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-  ४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ। गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौंमा शनिबार मृत्यु भएको हो। मृत्यु हुनेमा १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढा रहेका छन्।

आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो। गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए। एकै गाउँका तीन बालबालिकाको आगलागीमा परेर मृत्यु भएपछि सिङ्गो गाउँनै शोकमा डुबेको त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले बताउनुभयो ।

त्रिपुरासुन्दरीले घाइते दुई बालबालिकालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं पठाइएको थियो। उनीहरूको उद्धार गर्ने क्रममा हेलिकप्टर भाडा मात्रै रु १६ लाख ५० हजार खर्च आएको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताउनुभयो। ‘खर्च बेहोर्नका लागि त्रिपुरासुन्दरी नगरपालिका र कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको छ, ‘उहाँले भन्नुभयो। यसअघि डोल्पामै गत मंगलबार ठूलीभेरी नगरपालिका-४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा तीन सैनिकको ज्यान गएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू