अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

कूटनीतिक आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न मन्त्रालयहरूलाई परराष्ट्रको पत्र

बिआरटीनेपाल २०८० चैत ३० गते ७:१६ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्रमन्त्री भएर परराष्ट्र मन्त्रालय सम्हालेलगतै कूटनीतिक आचारसंहिता लागू गर्न कडाइ गर्नुभएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार अन्य मन्त्रालय तथा निकायलाई पत्र पठाउँदै आचारसंहिता पालनका लागि आग्रह गरेको छ । पछिल्लो समय देशमा कूटनीतिक नियोग, राजदूतावास तथा अन्य विदेशी एजेन्सीहरूको चहलपहल तीव्र भए पनि सरकारले जारी गरेको आचारसंहिता धेरैबाट उल्लङ्घन भएको पाइएको छ । नेपालमा कुनै पनि कूटनीतिक नियोगका प्रतिनिधि तथा विदेशीलाई जुनसुकै बेला भेट्न सक्ने अवस्था सृजना भएको छ ।

मुलुकमा कुनै पनि राजनीतिक परिस्थिति सृजना हुँदा राजदूतहरूको दौडादौड सुरु हुन्छ । उनीहरुले प्रधानमन्त्रीदेखि मन्त्री र राजनीतिक दलका शीर्ष नेताहरूको घर घरमा गएर भेटघाट गर्ने गरेका छन् । त्यतिबेला कुनै पनि आचारसंहितालाई मानेको पाइँदैन । कूटनीति नियोगका प्रतिनिधि, विदेशी दातृ निकायका प्रतिनिधि र राजदूतहरूले स्थानीय तहदेखि प्रदेश तथा संघका कुनै पनि प्रतिनिधिलाई चाहेका बेला भेटघाट गरिरहेका छन् । त्यसमा कुनै प्रकारको रोकटोक देखिएको छैन । उनीहरुले आफ्नो अनुकूल विदेश भ्रमणहरू पनि गरिनै रहेका छन् । भ्रमणका बारेमा सम्बन्धित निकायलाई जानकारी पनि हुँदैन ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, चिनियाँ राजदूत चेन सोङ, अमेरिकी राजदूत डी.आर.थम्पसनले यो बिचमा प्रदेशदेखि केन्द्रसम्म थुप्रै भेटघाट गरेका छन् । उनीहरुले विभिन्न कार्यक्रमहरू गरेका छन् तर अधिकांश भेटघाट र कार्यक्रमको जानकारी परराष्ट्र मन्त्रालयलाई छैन । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘कतिपय राजदूतले मन्त्री तथा कुनै नेतालाई भेटघाट गरेका कुरा हामी सञ्चारमाध्यमबाट जानकारी पाउँछौँ ।’

सिंहदरबारमै मन्त्रीहरूलाई राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिले भेटिरहेका हुन्छन् तर छेउमै रहेको परराष्ट्र मन्त्रालयलाई जानकारी हुँदैन । आचारसंहिता बनाउने मन्त्रीहरुले नै त्यो आचारसंहिता उल्लङ्घन गरिरहेको परराष्ट्र मन्त्रालयकै कतिपय अधिकारीको गुनासो छ । श्रेष्ठ परराष्ट्र मन्त्री बनेर आउने बित्तिकै पहिलो स्टेप कूटनीतिक आचारसंहिता लागू गराउनका लागि चाल्नुभएको छ । परराष्ट्र मन्त्रीमा सपथ लिएर पदभार ग्रहण गर्दै गर्दा उहाँले भन्नुभएको थियो,– ‘देशको सार्वभौमिकताको रक्षा गर्दै कूटनीतिक आचारसंहिता पालना गर्छु र अरूलाई पनि गराउँछु ।’

चैत ५ गते संसदमा आफ्नो धारणा राख्ने क्रममा श्रेष्ठले भन्नुभएको थियो,– ‘कूटनीतिक आचारसंहिता पालनाका लाग कडा कदम चाल्छु, परराष्ट्र सम्बन्ध र कूटनीतिक मामिलामा राष्ट्रिय सहमतिको आवश्यकता छ र आचारसंहिता पालनामा सरकार कडा हुन्छ ।’ संसदमा बोलेपछि परराष्ट्र मन्त्री श्रेष्ठले आचारसंहिता कडाइका साथ लागू गर्नका लागि सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्न कर्मचारीलाई निर्देशन दिनुभएको थियो । सोही निर्देशन बमोजिम मन्त्रालयले अन्य मन्त्रालय तथा निकायहरूलाई पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले मन्त्रालयबाट आज सबै मन्त्रालय तथा अन्य निकायलाई पत्र पठाइसकेको बताउनुभयो । पत्रमा कूटनीतिक आचारसंहिता कार्यान्वयनमा जोड दिन आग्रह गरिएको छ । पत्रमा सुधार गर्नुपरे त्यो पनि सुझाव दिन आग्रह गरिएको उहाँले बताउनुभयो ।

आचारसंहिता पालनामा केही कमजोरी देखिएको र त्यसलाई सुधार गर्नका लागि मन्त्री श्रेष्ठको निर्देशनमा पत्र पठाइएको छ । परराष्ट्र मन्त्रीको संयोजकत्वमा कूटनीतिक आचारसंहिता पालनाको अनुगमनका लागि सात सदस्यीय अनुगमन समिति पनि बनेको छ । सो अनुगमन समितिमा मुख्यसचिव वा उनले तोकेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, कानुन मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहेका छन् भने समितिको सदस्य सचिवमा परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू