अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने व्यवसायीको घोषणा

बिआरटीनेपाल २०८० चैत २९ गते ६:१७ मा प्रकाशित

नयाँ वर्ष २०८१ सालदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् । बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् ।पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गराउने जनाएका छन् ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले दरबारमार्ग र ठमेल २४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रुपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताउनुभयो । उहाँले अहिले ठमेलमा मात्रै ८ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको बताउनुभयो । उहाँले दरबारमार्ग जस्तो ठमेलमा २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न सहज नभएको बताउनुभयो ।

अध्यक्ष शर्माले स्थायी बसोवास गर्ने क्षेत्र र ठूलो क्षेत्र भएकाले व्यवस्थापन गर्न चुनौति रहेको जानकारी दिनुभयो । उहाँले स्वदेशी तथा विदेशी पर्यटकले २४ सै घण्टा ठेमलमा घुम्न, बस्न, खान सक्ने अनुभुति गर्ने बताउनुभयो । उहाँले परिषद् ठेमललाई व्यवस्थित बनाएर आकर्षणको केन्द्र बनाउनु चाहेको दाबी गर्नुभयो । उहाँले ठमेल भगवान बहाल क्षेत्र भित्रका व्यवसायीले भने २४ घण्टा व्यवसाय सञ्चालन गराउन नपाउने जनाउनुभयो । उहाँले ठमेलको भगवान बहालमा स्थानीयको बसोवास भएकाले १० बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्न नसकिने बताउनुभयो ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले दरबारमार्गमा करिव २ सय व्यवसायी रहेको बताउनुभयो । उहाँले करिब ७ हजार भन्दा बढी रोजगारी पाएको बताउनुभयो । उहाँले दरबारमार्ग विकास बोर्डले विगत लामो समय देखिको प्रयास अहिले सफल हुन थालेको बताउनुभयो । संयोजक अधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायको सक्रियताले पूर्णता पाउन थालेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू