अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५० | Colorodo: 20:05

भियतनाममा ४४ अर्ब डलरकाे बैकिङ ठगी : अर्बपति महिलालाई मृत्युदण्डकाे सजाय

बिआरटीनेपाल २०८० चैत २९ गते ६:१५ मा प्रकाशित

भियतनाममा अहिलेसम्म भएको सबैभन्दा ठूलो बैंकिङ ठगीका आरोपी ट्रुङ माई लानलाई मृत्युदण्डकाे सजाय सुनाइएकाे छ । बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोपमा भियतनामकी प्रख्यात व्यापारी ६७ वर्षकी लानलाई हाे ची मिन्ह शहरमा रहेकाे अदालतले मृत्युदण्डकाे फैसला सुनाइएकाे बीबीसीले जनाएको छ ।पक्राउ परेकी ट्रुङ माई लानलाई साइगोन कमर्सियल बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोप लगाइएको छ । अदालतले उनलाई २७ अर्ब डलर फिर्ता गर्न आदेश दिएको छ । तर अभियोजनकर्ताहरूले २७ अर्ब डलर कहिल्यै पनि फिर्ता नहुने अवस्थामा पुगेको बताएका छन् ।

यो मुद्दामा २७ सय जनालाई बयान दिन बोलाइएको खबरमा उल्लेख छ । ट्रुङ माई लानविरुद्धका प्रमाणले एक सय चार वटा बाकस भरिएको र यी कागजपत्रको तौल छ टन रहेको छ । भियतनामका १० वटा राज्यले लानविरुद्ध बहसका लागि दुई सय जना वकिल खटाएका थिए । लानको पक्षबाट भने ८५ जना वकिलले बहस गरेका थिए ।यसअघिका कम्युनिस्ट सरकारले यस्ता मुद्दा मिलेमतोमा टुङ्ग्याउने गरेको भए पनि अहिलेको सरकार भने भ्रष्टाचार विरोधी भएकाले मुद्दा टुङ्गोमा पुगेकाे खबरमा उल्लेख छ । भियतनाममा अनियन्त्रित भ्रष्टाचारको बारेमा जनआक्रोश बढिरहेको छ ।

चिनियाँ–भियतनामी परिवारबाट आएकी ट्रुङ माई लान लामो समयदेखि भियतनामको प्रमुख व्यापारी र उद्योगीको रूपमा रहेकी छिन् । सन् १९८६ मा सामान्य सौन्दर्यका सामान बेच्दै व्यवसायको शुरु गरेकी लानले सन् १९९० को दशकमा होटल र रेस्टुरेन्टको सञ्जाल फैलाउन थालेकी थिइन् । त्यसपछि घरजग्गा कारोबार र अन्य थुप्रै व्यवसायबाट उनको समूह अर्बपति बनेको थियो ।

सन् २०११ मा नियम छलेर उनले साइगोन कमर्सियल बैंक किनेकी थिइन् । भियतनामी कानुनले कुनै पनि व्यक्तिलाई एउटै बैंकको पाँच प्रतिशतभन्दा बढी शेयर राख्न निषेध गरेको छ । तर लानले आफ्ना कामदार र नातेदारहरूको नामबाट साइगोन बैंकमा ९० प्रतिशत शेयर पुर्‍याएकी थिइन् । त्यसपछि बैंकमा प्रबन्धकसहित अन्य जिम्मेवार व्यक्ति आफू अनुकूल नियुक्त गरेर नियम विपरीत ऋण लगेको लानमाथि आरोप लागेको छ ।

कुनै बेला साइगोन कमर्सियल बैंकको सबै ऋणको ९३ प्रतिशत हिस्सा लानको स्वामित्वमा रहेका कम्पनीमा लगानी भएको थियो । बैंकको अवस्थ खराब हुन थालेपछि उनले सन् २०१९ को फेब्रुअरीदेखि चार अर्ब डलर आफ्ना चालकमार्फत निकालेकी थिइन् । यदि भियतनामको सबैभन्दा ठूलो नोटमा भए पनि चार अर्ब डलरको तौल दुई टन हुने खबरमा उल्लेख छ । उनले दुई टन तौल बराबरका नोट कहाँ राखेकी छन् भन्ने पनि खुलेको छैन । लानले आफ्नो ऋणको छानबिन कहिल्यै नगर्ने सुनिश्चित गर्न एक जना केन्द्रीय बैंकका जिम्मेवार व्यक्तिलाई ५० लाख डलर घुस दिएको पाइएको छ । घुस लिने व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू