अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२७ | Colorodo: 12:42

पर्यटन उद्योग विकासका लागि नीतिगत तहमा महत्व दिन माग

बिआरटीनेपाल २०८० चैत २८ गते ८:४२ मा प्रकाशित

नेपालको पर्यटन विकासका लागि नीतिगत तहमै प्राथमिकता दिनु पर्ने सरोकारवालाले बताएका छन् । नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग गरेको छलफलमा सहभागीले यस्तो बताएका हुन् । परिसंघको पर्यटन समितिको संयोजनमा आयोजित छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा अथाहा सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रुपमा फाइदा लिन नसकेको बताउनुभयो ।

उहाँले राष्ट्रिय ध्वजाबाहकलाई बलियो बनाउन निगमको सुधार तथा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन रणनीतिक साझेदार भित्र्याउनुपर्ने बताउनुभयो । युरोपेली मुलुकसँग सन् २०१३ देखि टुटेको सिधा हवाई सम्पर्क पुनः जोड्न ठोस पहल गर्नुपर्नेमा जोड दिंदै उहाँले त्यसको सुरुवात नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकमा छुट्टाउनु पर्ने बताउनुभयो ।निर्माण सम्पन्न भएका तर सञ्चालनमा नआएका करिब दुई दर्जन आन्तरिक विमानस्थलमा निजी क्षेत्रलाई पर्यटकीय गतिविधि सञ्चालन गर्न दिनुपर्ने, हवाई टिकटमा लगाइएको भ्याट हटाइनुपर्ने माग निजी क्षेत्रको रहेको उहाँको भनाइ छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन हुन नसकेको भन्दै यसको सफल सञ्चालनका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले युरोपसँगको सिधा हवाई सम्पर्क पुनः जोड्न अवलम्बनका उपायबारे सुझाव दिन आग्रह गर्नुभयो। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले पर्यटन कम लगानीमा धेरै प्रतिफल हासिल गर्न सक्ने क्षेत्र रहेको बताउनुभयो ।पर्यटन क्षेत्रको समग्र विकासका लागि समितिले उच्च महत्व दिइरहेको भन्दै उहाँले नीतिगत स्थिरताको आवश्यकता औंल्याउनुभयो । यादवले पर्यटन क्षेत्रको विकास, यसबाट लाभ लिन निजी क्षेत्रबाट सामूहिक रुपमा स्पष्ट सुझाव आउनुपर्नेमा जोड दिनुभयो ।

सांसद उदय शंशेर राणाले प्राधिकरणको सुधारका सम्बन्धमा आइकाओले दिएको प्रतिबेदन समितिले माग्दा ९ महिनासम्म नपाएको बताउनुभयो । उहाँले नेपाल एयरलाइन्स, नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डको सुधारका लागि समितिले उपसमिति बनाएर विस्तृत रुपमा अध्ययन गर्न लागेको जानकारी गराउनुभयो । उहाँले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने विषयमा राजनीतिक दलहरुले भन्दा निजी क्षेत्रले आम समुदायलाई आश्वस्त पार्न सक्नुपर्ने बताउनुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्नेमा सबै सहमत रहेको भएपनि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल राम्रोसँग सञ्चालन हुन नसक्दा निजगढका विषयमा प्रश्न आउने गरेको उहाँको भनाइ छ ।

पूर्वपर्यटन मन्त्री समेत रहनुभएका सांसद भीम आचार्यले पोखरा र भैरहवा विमानस्थल राम्रोसँग सञ्चालनका लागि सरकारले कुनै गृहकार्य नै नगरेको बताउनुभयो । यी दुवै विमानस्थल सञ्चालन हुन सक्ने भन्दै विमानस्थलमा उडान भर्न पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । आचार्यले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निकै आवश्यक रहेको समेत बताउनुभयो । सांसदहरु एकनाथ ढकाल, डा. धवल शंशेर राणा, शिशिर खनालले पर्यटन क्षेत्रको समस्या र समाधानका लागि स्पष्ट सुझावका लागि निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू