अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०७ | Colorodo: 16:22

कूटनीतिक नियोग र विकास साझेदारसँग प्रधानमन्त्रीको आग्रह- ”लगानी गर्न नडराउनुस्, सुरक्षा सुनिश्चित गर्छौं”

बिआरटीनेपाल २०८० चैत २७ गते ६:२६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना हुने लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ । लगानी सम्मेलन नजिकिरहेका बेला प्रधानमन्त्री प्रचण्डले नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारका प्रतिनिधिसँग छलफल गरेका हुन्। सरकारले वैशाख ९ र १० गते नेपालका विभिन्न क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यसहित सम्मेलन गर्दैछ।

सिंहदरबारमा मंगलबार आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारहरूको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाललाई लगानी गन्तव्यको रूपमा स्थापित गर्न विकास साझेदारहरू र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगहरूको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो। ‘लगानी सम्मेलनमा सक्रियरूपमा संलग्न हुन र अधिकतम क्षमता बढाउन विकास साझेदारहरू, द्विपक्षीय र बहुपक्षीय विकास साझेदार संस्थाहरू र नेपालमा रहेका कूटनीतिक नियोगहरूबाट सहयोगको अपेक्षा गर्दछौं,’ उहाँले भन्नुभयो ।

संघीय सरकारका मन्त्रालयहरूसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनाहरूलाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै प्रधानमन्त्रीले सरकार लगानीमैत्री वातावरण बनाउन कानुन परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्ताहरूलाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

”सम्मेलनले घरेलु निजी क्षेत्र र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूबीचको अन्तरक्रिया र सञ्जाललाई उत्पादन मूल्य शृंखलामा लगानी बढाउन, नेपाली उत्पादन एवं सेवाहरूलाई विश्व बजारमा जोड्ने मञ्च प्रदान गर्नेछ। लगानी सम्मेलनको यस मञ्चले लगानीकर्ताहरू, विकास साझेदारहरू, वित्तीय संस्थाहरूलगायत सरोकारवालाहरूलाई एकजुट हुन, अवसरहरू खोज्न, दीर्घकालीन साझेदारीलाई बढावा दिन सहज तुल्याए,” प्रधानान्त्रीले भन्नुभयो। उहाँले विद्यमान र सम्भावित लगानीकर्ताहरूलाई आवश्यक पर्ने कुनै पनि सहयोग उपलब्ध गराउन नेपाल सरकार तयार रहेको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू