अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

राप्रपाको विरोध प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप

बिआरटीनेपाल २०८० चैत २७ गते ५:४७ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध प्रदर्शनमा झडप भएको छ । सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको हो । विरोध प्रदर्शनका क्रममा केही प्रहरी र प्रदर्शनकारीहरु पनि घाइते भएका छन् ।सरकारलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाव सिर्जना गर्न जनप्रदर्शन गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आफुले राखेका ४० वुँदे मागको वेवास्ता भएको भन्दै राप्रपाले सडकमा शक्ति प्रदर्शन गरेको हो । राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको पहिचान पुनस्थापना, संघीयता खारेजी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलगायतका मागहरु राखेर राजधानी केन्द्रीत वृहत् प्रदर्शन घोषणा गरेको थियो ।

सरकारले जनताको अधिकार संकुचित गर्दै निषेधित क्षेत्र तोकेको भन्दै राप्रपाले आजको प्रदर्शनमा निषेधित क्षेत्रहरु तोड्ने घोषणा समेत गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले अस्ती आयोजित पत्रकार सम्मेलनमा निषेधित क्षेत्रहरु तोड्ने चेतावनी दिनुभएको हो । लिङ्देनले कथित निषेधित क्षेत्र आफूहरुलाई मान्य नहुने बताउनुभयो । प्रदर्शन शान्तिपूर्ण हुने भन्दै उहाँले प्रदर्शनमा अवरोध सिर्जना गरेर उत्तेजित नबनाउन सरकारलाई सचेत गराउनुभयो ।

मुख्य सडकहरुमा प्रदर्शन हुने र सर्वसाधारणलाई असुविधा हुने कुनै क्रियाकलाप नहुने भन्दै उहाँले प्रदर्शनलाई नियन्त्रण गर्ने कोशिस भए त्यसको प्रतिवाद गर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू