अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न पहल भइरहेको छ– प्रधानमन्त्री

बिआरटीनेपाल २०८० चैत २२ गते ८:२२ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल भइरहेको बताउनुभएको छ । बिहीवार बसेको राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारत सरकारसँग हवाईमार्ग लागि कुरा भइरहेको तथा चीन र श्रीलङ्कासँग सिधा उडानका लागि संवाद भइरहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीन सरकारबाट प्राप्त ऋणलाई अनुदानमा परिणत गर्न पनि पनि आफूले कोसिस गरिरहेको जानकारी गराउनुभयो । उहाँले हेटौँडा, बुटवल, जनकपुर, विराटनगरका रुग्ण उद्योगहरु पुनः सञ्चालनमा ल्याइ कपडा, चिनी, धागो, जुटआदि उत्पादन गराउन छलफल भइरहेको जानकारी गराउँदै कोशी नदीमा तटबन्ध बनाउन र कोशी टप्पुको जग्गा संरक्षणका लागि काम भइरहेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्रीले नदी र नदी जोड्ने खालका परियोजना अघि बढाइ सिँचाइ सुविधामार्फत उत्पादन बढाउने र भूमि सुधारलाई लालपूर्जा वितरणको कामका रुपमा नलिइ जमिनको चक्लाबन्दी र उत्पादनमा जोड दिइ समाजवादको आधार निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सशस्त्र जनयुद्धका सहिद, घाइते र बेपत्ता परिवारका लागि न्याय तथा राहत दिन सरकार गम्भीर रहेको बताउँदै सत्य तथा मेलमिलाप आयोग विधेयक चाँडै संसदीय समितिबाट पारित हुने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू